• १६ भदौ २०८१, आइतबार

कान्ति तालमा मोटरबोट नचलाउन दबाब, चरा पार्क बनाउन विज्ञको माग

blog

कान्ति ताल। तस्बिर : सिराज खान। नेपालगन्ज

सिराज खान 

नेपालगन्ज, भदौ ८ गते। विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन् गर्ने ठाउँ बनेको नेपालगन्जको कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले दबाब दिएका छन्। 

उनीहरूले मोटरबोट सञ्चालनविरुद्ध चौतर्फी दबाब दिइरहेकै बेला सो ताललाई चरा पार्क बनाउन चराविज्ञले माग गरेका छन्। 

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको कान्ति तालमा मोटरबोट चलाउने तयारी गरिएपछि चरा विज्ञ र संरक्षणकर्मीले सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनको माध्यम बनाउन माग गरेका हुन्। 

तालमा मोटरबोट चलाउनुको सट्टा जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई त्यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउन स्थानीय सरकारसँग माग गरिएको नेपाल पन्क्षी सङ्घका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौँराले बताउनुभयो। 

उहाँले मोटरबोटरको विकल्पमा प्राकृतिक चरापार्क बनाएर आम्दानी गर्न सकिने सुझाव दिनुभयो। कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र यो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँ रहेकोले संरक्षण आवश्यक भएको बताउनुभयो। 

सिमसार क्षेत्रमा मात्र प्रजनन् गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनौट गर्ने गरेको बताउँदै उहाँले बाँकेमा कान्ति ताल, बर्दियामा बढैया ताल, कैलालीमा घोडाघोडी र कञ्चनपुरको पुरैनी ताल छनौट गरेको पाइएको बताउनुभयो। 

कान्तितालको संरक्षण महत्त्वपूर्ण रहेको बताउँदै पन्क्षी विशेषज्ञ रामबहादुर शाहीले वातावरणका लागि पनि यस्ता सिमसार क्षेत्रको संरक्षण गरिनुपर्ने बताउनुभयो। 

उहाँले यो तालमा प्रकृतिसँग रमाउन चाहिरहेका सहरका मानिसलाई चरा देखाउन, यहाँका स्कुल, कलेजलाई लक्षित गरेर जैविक विविधता सिकाई सेन्टरका रूपमा पनि विकास गरेर आम्दानी गर्न सकिने सुझाव दिनुभयो। 

नेपालमा संरक्षणको सूचीमा ९ प्रकारका सारस रहेकोमा ती मध्य ६ वटा तराईमा देखिने र तीन वटा कान्ति तालमा देखिएको स्थानीय संरक्षणकर्मी आशिषकुमार चौधरीले बताउनुभयो। 

उहाँले जाडोयाममा साइबेरिया, श्रीलङ्का लगायतका देशबाट आउने चरा यहाँ आराम गरेर भारत जाने र त्यहाँबाट फेरि यहाँ आएर फर्कने गरेकोले यो ताल महत्त्वपूर्ण रहेको जनाउनुभयो। 

विगत दुई वर्षदेखि उक्त तालमा चरा गणना सुरु गरिएकोमा पहिलो वर्ष तालमा २५ प्रजातिका चरा फेला परेका थिए। दोस्रो वर्ष घटेर २२ प्रजातिका मात्रै चरा फेला परे पनि अहिले ३२ प्रजातिका चरा रहेका छन्।