• १६ भदौ २०८१, आइतबार

मध्यविन्दुमा ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु

blog

‘हाम्रो खुसी’ पाठ्यक्रम तथा शिक्षक हातेपुस्तकको औपचारिक शुभारम्भ गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई लगायत अतिथिहरू । तस्बिर : मिना कँडेल

मीना कंडेल
कावासोती, भाद्र ८ गते । 
नवलपुरको मध्यविन्दु नगरपालिकाले ‘हाम्रो खुसी’ पाठ्यक्रम सुरु गरेको छ । स्थानीय पाठ्यक्रमलाई निरन्तरता दिँदै सबै शिक्षक र विद्यार्थी खुसीसाथ विद्यालय हाता भित्र प्रवेश गर्ने र नगरवासीलाई नै खुसी के हो भनेर जोड्ने गरी ‘हाम्रो खुसी’ पाठ्यक्रम नेपालमा नै पहिलो पटक सुरु गरिएको जनाइएको छ । 

शनिबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘हाम्रो खुसी’ पाठ्यक्रम तथा शिक्षक हातेपुस्तकको (कक्षा देखी आठ) औपचारिक शुभारम्भ गर्नु भएको हो । उहाँले भन्नुभयो, “जीवन, सम्बन्ध, संस्कार, व्यवहार, कर्तव्यनिष्ठ, राष्ट्र प्रेमको भावनादेखि पारिवारिक र सामाजिक सम्बन्धसँग जोडिएका कुराहरू यस पाठ्यक्रमका प्राथमिकतामा रहने भएकाले उत्कृष्ट रहने छ ।”

मानिसलाई खुसी हुन मन आनन्दित हुनुपर्छ भन्दै बाहिरी वातावरण रमाइलो देखिए पनि भित्र अशान्त हुँदा मानिस मानसिक रोगको सिकार हुने गरेको बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले विभिन्न चरणमा गरिएको अध्ययन, छलफल र अनुसन्धानपछि पाठ्यक्रम तयार गरिएको बताउनुभयो । उहाँले विज्ञ समूहबाट नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो खुसी पाठ्यक्रम सबै विद्यालयमा एक साथ सुरु गर्न शिक्षकलाई सक्षम बनाइएको छ ।” विद्यार्थीमा संवेदनशील भावनाको विकास र पारिवारिक सम्बन्ध विस्तारका लागि यो पाठ्यक्रम कोशेढुङ्गा साबित हुने उहाँको भनाइ छ ।

चालु शैक्षिक सत्र २०८१ देखि नगर भित्रका सबै विद्यालयमा एकदेखि आठ कक्षासम्म हाम्रो खुसी पाठ्यक्रम पठन पाठन सुरु गरिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकामा सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालय रहेका छन् । ‘हाम्रो खुसी’ पाठ्यक्रम निर्माणसँग सम्बन्धित सबै काम गर्नका लागि गण्डकी प्रदेश सरकार नवपर्वतक कार्यक्रम अन्तर्गत ७६ लाख र नगरपालिकाले ४५ लाख रुपियाँ रकम विनियोजन गरिएको मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।