• १६ भदौ २०८१, आइतबार

सामाजिक सुरक्षा भत्ता : ज्येष्ठ नागरिकको परिचयपत्र नवीकरण घरमै

blog

पोखरा महानगरपालिका-१७ विरौटामा सामाजिक सुरक्षा भत्ता नवीकरण हुँदै। तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ ८ गते। आँधीखोला गाउँपालिकाले प्रदेश राजधानी पोखरा पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गरेको छ। नागरिकलाई सङ्घीयताको प्रत्याभूति र घरघरमा सेवा दिने उद्देश्यले पालिकाले पोखरा महानगरपालिका–१७ बिरौटा पुगेर परिचयपत्र नवीकरण गरेको हो। 

पालिका अध्यक्ष विश्व पौडेलले वडामा परिचयपत्र नवीकरण गर्ने गरिएकोमा पालिका नै आउन नसक्ने ज्येष्ठ नागरिक र अपाङ्ग भएकालाई मुख्य गरेर सेवा दिएको बताउनुभयो। 

विगतमा महिनाको अन्तिममा आएर बाँकी रहेकालाई पोखरा नै आएर सेवा दिएको बताउँदै पौडेलले यो पटक महिनाको सुरुवातमै आएर सेवा दिएको बताउनुभयो। 

छ वटा वडा रहेको पालिकाले अहिलेसम्म वडा नम्बर १ का १३१, वडा नम्बर–२ का ३६ र वडा नम्बर –३ का  ४१ जनालाई परिचय पत्र नवीकरण सेवा पोखरामा दिएको हो। 

पालिका आउँदा बृद्धबृद्धाको एक महिनाको भत्ता नै खर्च हुने अवस्था रहेको बताउँदै पौडेलले खर्च र समयका बचत गराउन आफ्नो नागरिक भएको ठाउँ पोखरामा सेवा दिएको बताउनुभयो। 

बाँकी तीन वटा वडा पनि यो महिना भित्रै पोखरा रहेका नागरिकलाई सेवा दिने पालिकाको लक्ष्य रहेको छ। पालिकाको सामाजिक सुरक्षा भत्ता पाउने तीन हजार ३७४ जना मध्ये २० प्रतिशत पोखरामा रहेको बताउँदै पौडेले छुटेकालाई सबै वार्डको सकिएपछि एक दिन पोखरामा सेवा दिने पौडेलले बताउनुभयो। 

आफू पालिकाका नागरिकको सेवा गर्नको लागि निर्वाचनमा निर्वाचित भएको बताउँदै पौडेलले घर घरमै पुगेर हरेक सेवा दिने बताउनुभयो। चार महिना पहिला पोखरा छोरासँग बसोबास गर्नुभएका ८८ वर्षीय हुमनाथ उपाध्यायले कसरी नवीकरण गर्ने भन्ने थियो, घरमै सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो।

पालिका नवीकरण सेवा पोखरामा दिएर पालिका भगवान् बनेको बताउँदै उपाध्यायले हरेक वर्ष पटक आएर पालिकाले सेवा दिन आग्रह गर्नुभयो। पालिकाले गत आर्थिक वर्षमा ज्येष्ठ नागरिक नौ करोड ३०७ रुपियाँ, ज्येष्ठ नागरिक(दलित) ९४ लाख १९ हजार ६०, ज्येष्ठ नागरिक (एकल महिला) ६९ लाख ३७ हजार २८०, विधवा (आर्थिक सहायता) ९३ लाख ९७ हजार ८६९, क वर्ग अपाङ्ग ३७ लाख तीन हजार ६२१, ख वर्ग अपाङ्ग (आर्थिक सहायता) २६ लाख ५५ हजार ७४४, दलित बालबालिका २६ लाख ७९ हजार ७४७ रुपियाँ गरी १२ करोड ४७ लाख ९३ हजार ६२८ रुपियाँ भत्ता वितरण गरिएको हो।