• १० मंसिर २०८१, सोमबार

‘टक बाइ हत्याकाण्ड’ मा थाइल्याण्डमा सात अधिकारीलाई मुद्दा चलाइने

blog

बैङ्कक, भदौ ८ गते । थाइल्याण्डको सुदूर दक्षिणमा करिब दुई दशकअघि सेनाको ट्रकहरूमा निसास्सिएर दर्जनौँ मुस्लिम प्रदर्शनकारीहरूको मृत्यु भएको मामिलामा सात अधिकारीले मुद्दाको सामना गर्नुपर्ने पीडित परिवारहरूका वकिलले शुक्रबार बताएका छन् ।

राज्यको विद्रोहबाट प्रभावित दक्षिणमा ‘टक बाई नरसंहार’ भनेर चिनिने सन् २००४ अक्टोबर २५ को घटना सत्तारूढ थाई राज्यविरुद्ध मलय मुसलमानहरूले गरेका विद्रोहमा सबैभन्दा घातक मध्येको एक हो । थाइल्यान्डले एक शताब्दीअघि मलेसियासँग सीमा जोडिएका प्रान्तहरूलाई उपनिवेश बनाएको थियो ।

थाइल्यान्डको सैन्य ट्रकहरूमा एकमाथि अर्कोलाई थुपारिएपछि पक्राउ परेका ७८ जनाको निसास्सिएर मृत्यु भएको थियो ।

अधिकारीहरूले अन्य सात जनाको मृत्युमा पनि मुद्दा चलाउने छन् । सुरक्षा बलले धेरै बन्दीहरूको रिहाइको आह्वान गर्ने प्रदर्शनकारीहरूको ठुलो भीडमा गोली चलाउँदा ती सात जनाको मृत्यु भएको थियो ।

दक्षिणको नाराथिवाट अदालतले शुक्रबार पीडित परिवारहरूले सात अधिकारीमाथि हत्या र हत्या प्रयासको मुद्दा चलाउने मागसहितको निवेदनलाई स्वीकार गरेको परिवारहरूको प्रतिनिधित्व गर्ने वकिल रत्चदा मनुरचदाले पत्रकारहरूलाई बताउनुभयो ।

हत्या भएको २० वर्षपछि मुद्दामा सीमितताको कानुनको म्याद सकिने भएकाले दुई महिनाअघि यो निर्णय आएको हो ।

“अदालत मुद्दाको सुनुवाइ गर्न सहमत भएको छ”, अदालतको फैसलापछि रत्चदाले भन्नुभयो, “यो हाम्रो देशमा ऐतिहासिक मामिला हो जसले अधिकारीहरूले नागरिकहरूसँग उचित व्यवहार गरेको छ वा छैन भन्ने निर्णय गर्नेछ ।”

पूरै क्षेत्रमा दुर्व्यवहारको लगातारको आरोपहरूका बाबजुद थाई सुरक्षा बलका कुनै पनि सदस्यलाई ‘दक्षिण’ मा गैरन्यायिक हत्या वा यातनाका लागि कहिले पनि जेल पठाइएन ।

सात प्रतिवादीहरूमा वरिष्ठ सैन्य अधिकारी र राजनीतिज्ञहरू छन् । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पदमा रहँदा र प्रवित वोङसुवान सेना प्रमुख भएको बेला उक्त घटना भएको थियो । वोङसुवान अहिले वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ । मुद्दाको सुनुवाइ सेप्टेम्बर १२ मा हुने भएको छ ।

नरसंहारपछि दक्षिणी प्रान्तहरूमा तल्लो स्तरको द्वन्द्व सुरु चर्किएको छ । यस क्षेत्रका लडाकुहरूले राज्यबाट अधिक स्वायत्तताका लागि ठुलो लडाइँ जारी राखेकाले द्वन्द्वमा सात हजारभन्दा बढी मानिस मारिएका छन् ।

सांस्कृतिरूपमा बौद्ध बहुल थाइल्यान्डबाट अलग भएको यो क्षेत्रमा थाई सुरक्षा बलले कडा सुरक्षा प्रदान गरेका छन् । रासस/एएफपी