• ११ पुस २०८१, बिहिबार

प्रदीप्त देश (कविता)

blog

अधैर्य धैर्यमा भयो अस्वस्थ स्वस्थमा गयो

कुकृत्य कृत्यले गरी हराम राम झैँ भयो

विशेष शेष भैसक्यो सुधार धार नै गयो

प्रचार चारले गरे प्रवास बास नै भयो ।।१।।


अभक्त भक्त झैँ भए अशक्त शक्तझैँ भए

प्रबुद्ध बुद्ध ठानियो कुपात्र पात्र नै गए

विदेश देशका युवा नकाम काम ठान्दछन

अखण्ड खण्ड पारियो सुरम्य रम्य मान्दछन ।।२।।


निसाफ साफ भो यहाँ अभाव भावले गरी 

प्रपञ्च पञ्चको थियो प्रबन्ध बन्दमा परी

हरेसका नरेशको निरास रासमा पुग्यो

विधान धानले गरी मधेश देश नै चुक्यो ।।३।।


हजार जार छन यहाँ करोड रोडमा गयो

अपाच्य पाच्यझैँ हुँदै अमान्य मान्य नै भयो

बिजोर जोर बन्दछन अघोर घोर भ्रष्ट छन

विनाश नाश भो यहाँ  सशस्त्र शस्त्र प्रस्ट छन ।।४।।


प्रदीप्त दीप्त देश यो उखेल खेलको जरा

अनिष्ठ निष्ठले गरी उदास दास कन्दरा

विशिष्ट शिष्ट छन यहाँ अपान पान गर्दछन

किसान सान मार्दछन विमान मान झार्दछन ।।५।।