• १० मंसिर २०८१, सोमबार

बुढीनन्दाको महिमा

blog

बुढीनन्दा’ बाजुराको ऐतिहासिक एवं पर्यटकीय महत्व बोकेको प्रसिद्ध तीर्थस्थल अर्थात् धार्मिक क्षेत्र हो । बुढीनन्दा हिमशिखरमा वरदायनी बुदीनन्दा देवी विराजमान छन् । सेती र कर्णाली क्षेत्रमा यी देवीलाई सत्यदेवीका रूपमा मान्छन् । यो क्षेत्र बाजुराको बुढीनन्दा नगरपालिका अर्थात् समुद्र सतहबाट चार हजार ८८८ मिटर उचाइमा रहेको छ । यसको पूर्वमा रुगिन, पश्चिममा दहकोट र बझाङको भूभाग, सैपाल हिमालको दक्षिणी हिमशृङ्खला, उत्तरमा फुलैगुम्बा, सैनपाटन र दक्षिणमा कोल्टी कुरुगाड, बड्डाला, तलिगोठीलगायतका गाउँबस्ती पर्छन् । यसको वरिपरि दैवीय न्यायालयको प्रतीकका रूपमा रहेका तलिगोठी कैलाश देवता, खापर जगन्नाथ, चन्दननाथ, दत्तात्रय, खोचरनाथ, स्वामीकार्तिक, पादुका, कर्णाली नदी, रारा ताल रहेका छन् ।  बुढीनन्दा बड्डीगाड खोलाको मुहान हो । यो क्षेत्रले कोल्टीको सिमकुरु हुँदै मागीको लेकको सम्पूर्ण भागलाई आफ्नो अँगालोमा राखेको छ । यो क्षेत्रबाट उद्गम बड्डीगाड खोलाले बुढीनन्दा क्षेत्रको पवित्र जलराशिलाई बोकेर कुन्ना क्षेत्रसँग मितेरी गाँस्दै कर्णाली नदीमा मिल्दछ । कोल्टी तलिगोठीनजिक मालिका थापना हुँदै त्यहाँका खोँच र धुरा पार गर्दै सिमकुरु, छाप्रे, धनभण्डार हुँदै बुढीनन्दा देवीस्थानमा पुग्न सकिन्छ । 

यो क्षेत्र बुढीनन्दा देवीको निवासका साथै प्रकृतिको उपहारस्वरूप तेजार ताल, लङ्कारी तालले फूलको थुँगा झैँ सिँगारिएको छ । लङ्कारी तालबाट उद्गम सुनालिस्नी र रूपालिस्नी झरनाले बुढीनन्दालाई पहरा दिइरहेका छन् । खोज र अनुसन्धान नभए पनि यस क्षेत्रमा रहेका पचाल ताल विश्वमा नै अग्लो हुन सक्ने सम्भावना रहेको छ । बुढीनन्दामा हरेक वर्ष भक्तजन श्रावण शुक्ल चतुर्दशीका दिन यहाँ पुगी पूजाअर्चना गर्ने गर्छन् ।  

बुढीनन्दाको रहस्य

धेरै वर्षअघि कुन्ना क्षेत्र अन्तर्गत तलिगोठी र मोटेढुङ्गा भन्ने स्थानमा सिउराजी अर्थात देउराजी बोहोराका सन्तान दान्या र पल्लाम्यालाई सिँजापति महाराज नरिभान बमले झालगडा ओल क्षेत्रदेखिमाथि मोटेढुङ्गाभित्रको जग्गा बिर्ता विलय गरिदिएछन् । ती बोहोराले पनि जग्गा प्राप्त गरेपछि त्यसैमा घरबस्ती बसाले छन् । तिनीहरू सिकार खेल्नमा पनि निकै सिपालु थिए । त्यतिबेला सिकारका लागि धनुर्वाणको प्रयोग गरिन्थ्यो । वाण विषयुक्त बनाउन वाणका टुप्पामा विष राख्ने, तिखो धार नमोडियोस् भनी वाण राख्ने कोक्रोमा जौ राखिन्थ्यो । एक दिन मोटेढुङ्गातिर सिकारका लागि विषयुक्त जौ एक स्थानमा छरेर घर फर्किएछन् । पछि त्यहाँ जाँदा जौ राम्ररी फलेको पाएछन् । असारको महिनामा त्यो जौ काटेर, चुटेर घाममा सुकाउन राखी आफू सिकारका लागि जङ्गलमा गएका बेला एउटा मृग आई सबै जौ खाइदिएछ ।  

सिकारबाट ती दुई भाइ फर्किंदा त त्यहाँ एक दाना पनि जौ नभएको र त्यहीँको एक स्थानमा सुनौलो मृग यताउति दौडिरहेको देखे छन् । जौ खाने यही मृग हो भनी रिसले आगो हुँदै दोस्रो दिन त्यो मृगलाई मार्ने योजना बनाई त्यतै बास बसे छन् । दोस्रो बिहान त्यो स्थानमा पुग्दा मृग उफ्री उफ्री खेल्दै गरेको देखेपछि त्यसलाई मार्ने योजना बनाई मृगको पिछा गरे छन् । मृग भागेर चौँरीलेकतर्फ लागे छ । चौँरीलेक पुग्दा मृग चुनढुस्का, चुनढुस्का पुग्दा मुसेपानी हुँदै लादे, खस्यादी नाचेको देखिए छ । मृग लखेट्दा लखेट्दै साँझ परेछ । दाजुभाइ एउटा ओडार खोजेर त्यहीँ बास बसे छन् । बिहान उठ्दा फेरि मृग आँखाअगाडि उफ्री उफ्री नाचिरहेको देखे छन् । घर फर्कन लागेका दाजुभाइ पुनः मृगलाई देखेपछि उसलाई मार्ने योजनासहित वाण हान्न लाग्दा मृग भागेर लौडीविनायकमा पुगे छ । लौडीविनायक पुग्दा मृग गौगोठतर्फ लाग्छ र त्यहीँ कता कता बिलाउँछ । दाजुभाइ मृगको खोजीमा रहेका बेला त्यहाँ एउटा सन्न्यासी बाबा प्रकट भई तिमीहरू कहाँ जाँदै छौँ भनी प्रश्न गरे छन् । ती दुवै भाइले आफ्नो यथार्थ वित्तान्त सुनाए छन् । त्यसपछि बाबाले त्यो सिकार खेल्ने स्थान नभई बुढीनन्दा देवीको स्थान भएको र देवीको नाम दिएर सिकार खेल्न आग्रह गरे छन् । ती दाजुभाइमा पनि चेतना आए छ । देवीको नै लीला हो भनी देवीको नाम जप्दै चरिदहतर्फ लागे छन् । मृग पनि त्यहीँ घुमिरहेको देखिए छ । मृगले तिनीहरूलाई धनभण्डारतिर डो¥याउँदै त्यहाँका भिरपाखा छिचोल्दै अदृश्य भए छ ।  मृगको सिकारमा निस्केका दाजुभाइ साँझ परेपछि धनभण्डारमा नै बास बसे छन् । निदाएका बेला तिनीहरूले सपना देखे छन् । सपनामा देवी प्रकट भएर भनिछन्, “तिमीले लखेट्दै आएको मृग मेरो रूप हो । म बुढीनन्दा देवी हुँ । बिहान भएपछि म तिमीहरूलाई मेरो सक्कली रूप देखाउने छु र मैले भनेको स्थानमा मलाई स्थापना गरी राखेमा तिमीहरूको भलो हुने छ । अब तिमीहरू मेरा माइती हो, मेरो पूजा गर्नु तिम्रो कल्याण हुने छ  ।”

बिहान उज्यालो हुनासाथ पुनः मृग सामुन्ने देखा परेछ । अब दुवै भाइ त्यो मृगलाई देवीका रूपमा मानी भक्तिभावका साथ देवी प्रार्थना गर्न थाले छन् । त्यसपछि देवी, सुनालिस्ना, रूपालिस्ना, फुलवाडी, भेरालदह, लङ्कारीदह, धलपुरीदह हुँदै बुढीनन्दा स्थानमा पुगी हराइछन् । जहाँ ढँटेलाको बोट, दुधकुण्ड, होमकुण्ड तथा अन्य पूजा सामग्री देखिए छन् । देवीलाई हृदयमा राखेर त्यहाँ उत्पत्ति भएका पूजा सामग्री लिएर निजार भन्ने स्थानमा पुगे छन् । जहाँ चतुर्भुज नन्दादेवी प्रकट भइछन् । त्यही स्थानबाट देवीबाट आकाशवाणी भएछ । यही स्थानमा मेरो प्रतिमा राखेर पूजा गर्नू भनेर देवी अन्तरध्यान भइछन् । सोही दिनबाट बुढीनन्दामा मन्दिर स्थापना गरेर पूजाअर्चना गरिँदै आएको किंवदन्ती रहेको छ । 

बुढीनन्दा क्षेत्रको विकास प्रयास

पर्वतीय पदयात्राका लागि अत्यन्तै आकर्षक गन्तव्य हुन सक्ने सम्भावना भए पनि प्रचारप्रसार हुन नसकेको भन्दै बुढीनन्दा नगरपालिकाले यस क्षेत्रको प्रवर्धनका लागि विभिन्न प्रयास गरिरहेको छ । गत वर्ष यही मेलाको अवसर पारेर नगरपालिकाले बुढीनन्दामै कार्यपालिकाको बैठकसमेत राखेको र जिल्लाबाट हरेक वर्ष सरकारी टोली पूजाका लागि बुढीनन्दा जाने प्रबन्ध पनि मिलाएको थियो ।  

बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्धनका लागि सक्रिय युवाको समूह ‘वाइल्ड बाजुरा’ ले निःशुल्क यात्राको व्यवस्थापन गरेको नगरपालिकाले जनाएको छ । हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तीर्थयात्रा जनैपूर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर समुद्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण ठुलो सङ्ख्यामा तीर्थयात्री यहाँ आउने गर्छन् । यो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट सुरु भएको उक्त धार्मिक यात्रा छाप्रे पाटन, लौडीविनायक, वरमाग्ने, चडीदह, धौलीपाटन, धौलीभँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन भएको छ । यात्रा अवधिभर यात्रीलाई दुई छाक भोजन र रात्रिबासका लागि टेन्टको व्यवस्था गरिएको वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले बताउनुभयो । यात्राका दौरानमा आवश्यक पर्ने स्वास्थ्य उपचार, उपचार टोली, स्वयंसेवक परिचालन गरिएको थियो ।

 बुढीनन्दा यात्राका दौरानमा आफूले बोकेको खानेकुरा अन्य यात्रीलाई पनि बाँडेर खाने चलन रहेको छ । “पुरानो चलनलाई जोगाउन र तीर्थयात्रीको यात्रा सहज होस् भन्नका लागि यो वर्षदेखि खाना र बास निःशुल्क गरिएको हो,” रेग्मीले भन्नुभयो । त्यसका लागि बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग र वाइल्ड बाजुराले यात्राको व्यवस्थापन गरेको थियो । बुढीनन्दा आसपास रहेका दर्शनीय स्थल धौलीपाटन, महारुद्र ताल, कैलाश ताल र खेतीबेतीलगायतका ठाउँ घुम्न चाहनेका लागि पथप्रदर्शक पनि निःशुल्क उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

पाटन र करिब एक दर्जन सङ्ख्यामा रहेका ताल यहाँको मुख्य पर्यटकीय गन्तव्यमध्ये पर्छन् भने यहाँ अतिस, व्रजदन्ती, पाषणाभेद, पाँचऔँले, कटुकी, हत्ताजडिई, मौरामुली, कटुकी, पदमचाल, भुतकेस, ब्रह्मी, कमल, यार्चागुम्बा, मधुजडी, धुपजडी, बायोजडी, निनाइजडी, पाँचऔँले, सुनपाती, चिराइतो, पाषाणभेद, काउलो, चुत्रो, पावन काउलो, रातो च्याउ, अल्लो, कटुकी, सुगन्धवाल, चिराइतो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, विषजरा, मधुजडी, वनलसुन, निनाइजडी, जटामसी जस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छन् । यहाँबाट मुगु, हुम्ला, कालीकोटलगायतका सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाको दृश्य देखिन्छ भने बझाङमा रहेको साइपाल र जेठीबहुरानीलगायत हिमालको दृश्यावलोकन गर्न सकिन्छ । बाजुराको सदरमुकाम मार्तडीबाट पाण्डुसैन हुँदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगन्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर पनि बुढीनन्दाको यात्रा गर्न सकिन्छ ।

Author

सङ्गीता तिमिल्सेना