• ११ मंसिर २०८१, मङ्गलबार

तानाशाही प्रवृत्ति देखिएपछि नयाँ दल गठन भयो : महासचिव राई

blog

नेपालगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव मोहम्मद इस्तियाक राई। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ७ गते। जनता समाजवादी पार्टी (जसपा) का महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले उपेन्द्र यादवको तानाशाही र मनपरी सहन नसकेर आफूहरुले विद्रोह गरेर नयाँ पार्टी गठन गरेको बताउनुभएको छ। 

नेपालगन्जमा आयोजना गरिएको कार्यकर्ता भेला तथा बाँके जिल्ला सम्मेलन आयोजक समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव राईले उपेन्द्र यादव मधेस आन्दोलन र मधेस विद्रोहको मर्म विपरित गएकोलेनै आफूहरु छुट्टिएको बताउनुभयो। 

उहाँले मधेसीको हक, अधिकारको रक्षा सहित अन्य पीडित र उत्पीडित समुदाय र वर्गको उत्थानका लागि जनता समाजवादी पार्टी गठन भएको जनाउँदै सबैतिर उत्साहपूर्ण समर्थन मिलिरहेको बताउनुभयो। 

उहाँले पार्टीलाई बलियो र सुदृढ बनाउने उदेश्यका साथ अहिले जिल्ला जिल्लामा सम्मेलन र भेला गर्ने कार्यहरु भइरहेको जनाउँदै सोही साथसाथै मिसन २०८४ पनि सञ्चालन गरिएको बताउनुभयो। 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्व राज्यमन्त्री हसिना खान, लुम्बिनी प्रदेशका पुर्वमन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्य आदेश अग्रवाल लगायतले पनि नव गठित जनता समाजवादी पार्टीले मधेश आन्दोलनको मर्मलाई पुरा गर्ने कार्य गर्ने बताउनुभयो।