• २१ पुस २०८१, आइतबार

कटानले गाउँबस्ती जोखिममा

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ ७ गते । डुडुवा खोलाले बर्सेनि गर्दै आएको तीव्र कटान र डुबानका कारण तीन वटा पालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जग्गा जोखिममा परेका छन् । वर्षाको समयमा डुडुवाको कटान र डुबानबाट कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विभिन्न गाउँबस्ती र खेतीयोग्य जमिन अत्यधिक जोखिममा परेका हुन् । 

डुडुवा–१ का वडाध्यक्ष पटेश्वर कुर्मीले डुडुवाखोलाको कटानका कारण वडाभित्रका बस्ती उच्च जोखिममा परेको जनाउँदै त्यसको नियन्त्रणका लागि प्रदेश र सङ्घ सरकारसँग माग गरिएको बताउनुभयो । उहाँले डुडुवा–१, कृषिचौफेरी गाउँका बासिन्दा डुडुवा खोलामा बाढी आउनासाथ घरभित्र कतिबेला पानी पस्ने हो भन्ने चिन्तामा पर्ने गरेका बताउनुभयो ।

सोही खोलाको कटानले नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकाका पनि धेरै गाउँबस्ती जोखिममा परेका लुम्बिनी प्रदेश सरकारमातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । सो कार्यालयले डुडुवा खोलाको कटान नियन्त्रणका लागि गुरुयोजना बनाइए पनि पर्याप्त बजेट विनियोजन नहुँदा कार्यान्वयन हुन नसकेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले निरन्तर परेको पानीका कारण डुडुवा र राप्ती नदीको सतह बढ्दै गइरहेकाले डुबान र कटानको खतरा थप बढेको जानकारी दिनुभयो । उहाँले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभयो । “डुडुवाबाहेक राप्ती नदी, मान खोला, मोरङ्गा खोला र अन्य साना खोलाको कटानले सयौँ बिघा खेतीयोग्य जमिन कटान गरिरहेको र दर्जनौँ गाउँ उच्च जोखिममा परेकाले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।