• ७ भदौ २०८१, शुक्रबार

खेलकुद मन्त्रीद्वारा ‘सेन्थेटिक ट्रयाक’ निरीक्षण

blog

हस्तान्तरण नहुँदै उप्किएको ‘सेन्थेटिक ट्रयाक’ निरीक्षण गर्दै खेलकुद मन्त्री चौधरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ६ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको महिना दिन नपुग्दै फुटेको ‘सेन्थेटिक ट्रयाक’ को स्थलगत निरीक्षण गर्नुभएको छ । 

सुर्खेतबाट काठमाडौँ फर्किने क्रममा नेपालगन्ज पुग्नुभएका खेलकुद मन्त्री चौधरीले बुधबार साँझ रङ्गशालामा पुगेर सो ट्रयाकको स्थलगत निरीक्षण गर्नुभएको हो । स्थलगत निरीक्षणपछि मन्त्री चौधरीले सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकाले अनुसन्धान गर्न अध्ययन उपसमिति गठन गर्नुका साथै आफू स्वयं अनुगमन गर्न आएको बताउनुभयो । 

उहाँले हस्तान्तरण नहुँदै ट्रयाक उप्केको हुँदा त्यसको सबै जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने प्रष्ट पार्नुभयो । सेन्थेटिक ट्रयाक उप्किएको विषयमा राखेपले अध्ययन उपसमिति निर्माण गरिसकेकाले सत्यतथ्य बाहिर आउने जनाउँदै मन्त्री चौधरीले पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले विशेष ध्यान दिएर निर्माण गराउनु पर्नेमा जोड दिनुभयो । 

निर्माण कम्पनीले मर्मत गरेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार पारेपछि मात्र सेन्थेटिक ट्रयाक हस्तान्तरण हुने उहाँले बताउनुभयो । उहाँले दुई वर्षसम्म केही बिग्रियो, उप्कियो वा अरू केही भयो भने सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीको हुने बताउनुभयो । 

सो अवसरमा मन्त्री चौधरीले रङ्गशाला परिसरमा रहेका खेलकुदका अन्य भौतिक पूर्वाधारको पनि निरीक्षण गर्नुभएको थियो । करिब १० करोडको लागतमा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ को हस्तान्तरण नहुँदै उप्किएपछि राष्ट्रिय खेलकुद परिषद्ले राखेपका सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो । 

उपसमितिको सदस्यहरूमा राखेपका इन्जिनियर पूर्णबहादुर सुन्दास र एथलेटिक्सका वरिष्ठ प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहनु भएको छ । उपसिमितले अनुसन्धान गरिसकेकाले प्रतिवेदन तयार पार्ने कार्य भइरहेको संयोजक क्षेत्रीले बताउनुभयो । 

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या– सिन्कोट्स जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपियाँमा ठेक्का दिएको थियो ।