• ७ भदौ २०८१, शुक्रबार

त्रिविमा फेरि किचलो

blog

काठमाडौँ, भदौ ६ गते । नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो ।

समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।

तथापि सरकारले डिएसपीको नेतृत्वमा प्रहरी परिचालन गरेपछि उहाँहरू बुधबारदेखि नियमित काममा फर्कनुभएको छ । उपकुलपति प्राडा केशरजङ्ग बराल भने बिरामी भएर घरमै आराम गरिरहनुभएको छ । 

विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार आफूले भने अनुसारको व्यक्तिलाई विभागीय प्रमुख बनाउन दबाब दिँदै केही विद्यार्थी सङ्गठनका नेताले पदाधिकारी तथा प्राध्यापकलाई आक्रमणको धम्की दिएका छन् ।

बुधबार बिहानै मन्त्री भट्टराईले फेसबुकमार्फत त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्ने र प्राध्यापकलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको जानकारी दिनुभएको थियो । साथै गुन्डागर्दी गर्ने छुट कसैलाई नभएको भन्दै विश्वविद्यालयको सुरक्षाको प्रबन्ध गर्न उहाँले गृहमन्त्रीसँग माग गर्नुभएको थियो ।

मन्त्री भट्टराईको आग्रहपछि बुधबार प्रहरीले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयमा सुरक्षा दिएको थियो । त्रिविमा पछिल्लो समयदेखि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद आफू मातहतका निकायमा पदाधिकारी नियुक्ति गर्दा अनुभवी र वरिष्ठलाई मात्रै अघि सार्ने उद्देश्यले त्रिवि कार्यकारी परिषद्ले केही समयअघि तयार गरेको मापदण्डसँग सम्बन्धित हो । 

तर विश्वविद्यालय स्रोतका अनुसार विभागले कार्यविधि अनुसार वरिष्ठताका आधारमा सिफारिस गरेको नामावलीलाई मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टीका गौतमलाई सिफारिस गरेपछि विवाद भएको हो । ३२ साउनमा तत्कालीन विभाग प्रमुख प्राडा युवराज लुइटेलको पदावधि सकिनुअघि लुइटेलले नै नयाँ विभागीय प्रमुख नियुक्तिका लागि सहप्राध्यापकहरू पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गर्नुभएको थियो । तर डिन प्राडा कुसुम शाक्यले दोस्रो नम्बरमा रहेको गौतमलाई विभागीय प्रमुख नियुक्तिका लागि शिक्षाध्यक्षसमक्ष सिफारिस गरेको आरोप लागेको छ । 

उक्त सिफारिसलाई शिक्षाध्यक्षले कार्यकारी परिषद्को बैठकमा पेस गर्नुपर्ने हुन्छ । तर को वरिष्ठ भन्ने विषयमा विवाद भएपछि शिक्षाध्यक्ष कार्यालयले समाजशास्त्र विभागमा कार्यरत सम्पूर्ण प्राध्यापकको विवरण पठाउन हालै मात्र डिन कार्यालयलाई लिखित निर्देशन दिएको छ । उक्त निर्देशनको जवाफ आइसकेको छैन । समाजशास्त्र विभाग साउन ३२ गतेदेखि नै प्रमुखविहीन छ । 

तर त्रिविका एक पदाधिकारीले भने डिन कार्यालयबाट आएको नामावली अनुसार नियुक्ति गर्न आफूलाई विद्यार्थीबाट धम्की आएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना विद्यार्थीले बुधबार बिहान मात्रै फोन गरेर आफूले भनेको व्यक्तिलाई डिन नियुक्त नगरे जहाँ भेट्यो त्यहीँ सिध्याइदिने धम्की दिएका छन् । यस्तो अवस्थामा विश्वविद्यालयभित्र बसेर कसरी काम गर्ने ?”   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।