• १६ भदौ २०८१, आइतबार

मुख्यमन्त्री आचार्यलाई सात दलले विश्वासको मत दिँदै

blog

मुख्यमन्त्री चेतनारायण आचार्य ।

रुपन्देही समाचारदाता

रुपन्देही, भदौ ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई सात वटा राजनीतिक दलले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री आचार्यले मङ्गलबार विश्वास मत लिने तयारी गर्नुभएको छ ।

मङ्गलबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी भएको हो । उक्त प्रस्तावमाथि दलीय आधारमा प्रतिनिधिले पक्ष वा विपक्षमा धारणा व्यक्त गर्ने छन् । उक्त प्रस्तावमाथि मत विभाजन गरिने छ । नेकपा (एमाले) का सांसद आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । 

गत साउन ७ गते मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलका उपनेता हुनुहुन्थ्यो । शनिबार बसेको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलका नेतासमेत चयन गरिसकेको छ । मुख्यमन्त्री आचार्यलाई कांग्रेस र एमालेसहित अन्य पाँच दलका सांसदले पनि विश्वासको मत दिने भएको एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो । 

ती दलले विश्वासको मत दिन ह्विप पनि जारी गरेका छन् । लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । यी दुई दल मात्रै भए पनि  सरकार बनाउन बहुमत पुग्छ । ११ वटा दल क्रियाशील रहेको लुम्बिनी प्रदेशमा ८७ जना सांसद छन् । मुख्यमन्त्री आचार्यलाई सात वटा दलका सांसदले मत दिएका खण्डमा दुई तिहाइ समर्थन प्राप्त हुन सक्ने बताइएको छ । मङ्गलबार दिउँसो २ बजे प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी गर्नुभएको छ । 

एमालेका प्रमुख सचेतक चौधरीले शनिबारकै संसदीय दलको बैठकबाटै मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्विप जारी गरिसकेको जानकारी दिनुभयो । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको कांग्रेस नेता जन्मजय तिमिल्सिनाले बताउनुभयो । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मन्त्रीपरिषद्मा अहिले एमालेबाट मुख्यमन्त्रीसहित पाँच र कांग्रेसबाट चार जना मन्त्री रहेका छन् । लुम्बिनीमा मन्त्रीपरिषद् १२ सदस्यीय हुने छ । 

कांग्रेसबाट एक र अन्य दलबाट दुई जना मन्त्री बनाउने तयारीमा मुख्यमन्त्री रहेको बुझिएको छ । कांग्रेसभित्र बादशाह कुर्मीलाई मन्त्री बनाएकोमा असन्तुष्टि पनि देखा परेको छ । कुर्मीमाथि बाँकेको जानकी गाउँपालिकाकी निर्मला कुर्मीको अपहरण तथा हत्यामा संलग्न रहेको आरोप लागेको छ । 

मुख्यमन्त्री आचार्यलाई जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाका सांसदले पनि विश्वासको मत दिने भएका छन् । जनमत र लोसपाका तीन/तीन जना सांसद छन् । जसपाका दुई, जसपा नेपालका एक, नाउपाका चार सांसद छन् ।  लुम्बिनीमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक एक जना सांसद छन् । १३ जना सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वास मत नदिने बुझिएको छ ।