• १६ भदौ २०८१, आइतबार

साधक रोचकको अभिनन्दन

blog

काठमाडौँ, भदौ ४ गते । साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेलाई राजधानीमा सोमबार बृहत् अभिनन्दन गरिएको छ । नेपाल स्रष्टा समाजद्वारा आयोजित अभिनन्दनमा करिब एक सय साहित्यिक संस्था र साहित्यिक पत्रिकाले साहित्यकार तथा साहित्यिक पत्रकार घिमिरेको अभिनन्दन गरेका थिए । 

लेखक अभि सुवेदीले ८४ वर्षको उमेरमा साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेको अभिनन्दन चेतनशील सर्जकबाट हुनु राम्रो भएको धारणा व्यक्त गर्नुभयो । नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले स्रष्टाकै तर्फबाट स्रष्टाको सम्मान गर्ने असल परिपाटीको सुरुवात भएकोमा खुसी व्यक्त गर्नुभयो । अभिन्दित रोचक घिमिरेले २०१८ सालमा रहरैरहरमा ‘रचना’ पत्रिका प्रकाशन थालेको चर्चा गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपाली भाषा र साहित्यको सेवा गरेबापतको कदरका रूपमा लिएको छु । त्योबेला रहरैरहरले गरेको कार्य अहिले इतिहास भए छ । सामान्य सेवा ठुलो पो रहेछ ।” नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले  नेपाली साहित्य र समाजका लागि असल कार्य भएको बताउनुभयो । 

कार्यक्रममा रमा शर्मा, प्राडा गोविन्दराज भट्टराई, नगेन्द्रराज शर्मा, डा. शान्तिमाया गिरीले अभिनन्दित व्यक्तित्व रोचक घिमिरेप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । सहआयोजक भैरव पुरस्कार गुठी रहेको कार्यक्रममा ‘रोचक रचना’ बृहत् कृति सार्वजनिक गरिएको थियो । शेषराज शिवाकोटीद्वारा सम्पादित ‘रोचक रचना’ मा १११ लेखकका रोचक घिमिरेसम्बन्धी स्मरण र लेख छन् । कृतिमा रोचक रचना समावेश गरिएका छन् । कविता, रचना कृति चर्चा, अन्तर्वार्ता, तस्बिर समेटेर ८२६ पृष्ठको बृहत् ग्रन्थ प्रकाशन गरिएको छ । 

कार्यक्रममा सम्पादकीय मन्तव्य राख्दै शिवाकोटीले रोचक घिमिरेको साहित्यिक पत्रकारिता र साहित्यलाई साङ्गोपाङ्ग विश्लेषण र मूल्याङ्कन गर्ने कृति प्रकाशित भएको बताउनुभयो ।