• २ माघ २०८१, बुधबार

पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा सर्वोच्चमा पुनरावेदन

blog

काठमाडौँ, भदौ ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले पर्यटन कार्यालय बाँकेको तत्कालीन कार्यकारी निर्देशक बुढाथोकी तथा तत्कालीन सबइन्जिनियर ललनकुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिको तत्कालीन सब इन्जिनियर दिपेश महतारा, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढा र खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार छ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरेको हो ।

दीपक बहादुर बुढाथोकी, ललनकुमार मण्डल र दिपेश महताराविरुद्ध एक लाख ५६ हजार पाँच सय ५३ रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै, खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रावत र सचिव वीरबहादुर बुढाविरुद्ध एक लाख ५६ हजार पाँच सय ५३ रुपियाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो । खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञानबहादुर शाहीविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।