• ११ मंसिर २०८१, मङ्गलबार

करोडौँ मूल्य पर्ने सरकारी गाडी प्रयोगविहीन

blog

जिल्ला समन्वय समिति गुल्मीमा प्रयोगविहीन अवस्थामा रहेका गाडी । तस्बिर : तिलाचन पाण्डे

तम्घास समाचारदाता 

तम्घास, भदौ ३ गते । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी नम्बर प्लेटका गाडी प्रयोगविहीन अवस्थामा यसै थन्किएर बसेका छन् । जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी र गुल्मी अस्पतालका बिरामी बोक्ने दुई वटा एम्बुलेन्स लामो समयदेखि आफैँ बिरामी भएर थलिएका छन् । यसै गरी जिल्लामा सरकारी कार्यालय र स्थानीय तहमा गरी ३८ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा छन् ।  

छ वटा गाडीमध्ये कार्यालयमा हेर्दा कुनैको अभिलेख छ भने कुनै सरकारी गाडीको अभिलेखसमेत भेट्न सकिँदैन । जिल्ला समन्वय समिति गुल्मीको परिसरमा चार वटा गाडी यसै कुनामा थन्किएर बसेका छन् । चार वटा गाडीमध्ये दुई वटा गाडीको कार्यालयमा अभिलेख पाइन्छ भने दुई गाडी बेवारिसे छन् । 

चार वटा ल्यान्डरोभर कम्पनीका गाडीमध्ये बा. १ झ ६६८० र ६६८१ नम्बरका गाडी मात्रै कार्यालयको अभिलेखमा रहेको सूचना अधिकारी सिर्जना मिश्राले जानकारी दिनुभयो । अन्य दुई गाडी कार्यालय परिसरमा भए पनि अभिलेख नभएको उहाँको भनाइ छ । उहाँका अनुसार अभिलेखमा रहेका दुई गाडीको पनि लामो समयदेखि नवीकरण भएको पाइँदैन । तीमध्ये एउटा गाडीको नम्बर प्लेट नै छैन भने अर्कोको राम्रोसँग बुझ्न सकिँदैन । 

एम्बुलेन्स नै बिरामी

बिरामी बोक्ने गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स बर्सौंदेखि आफैँ थलिएका छन् । लु. १ झ २७९ नम्बर र लु. १ झ २३५ नम्बरको एम्बुलेन्स एउटा कुनामा रहेको गुल्मी अस्पतालका सूचना अधिकारी रमेशप्रसाद पन्थीले जानकारी दिनुभयो । लिलाम बिक्री गर्न राजस्व छुट र अनुदानमा आएका एम्बुलेन्सका लागि धेरै झन्झटिलो हुने गरेकाले समस्या भएको उहाँको भनाइ छ ।

जिल्ला दूरसञ्चार कार्यालयको भवनअगाडि एउटा डोजरको भग्नावशेष छ । गुल्मीमा दूरसञ्चार कार्यालय स्थापनाकालदेखि नै उक्त डोजर उही अवस्थामा छ । हालसम्म पनि कुनै कम्पनी वा व्यक्तिले डोजर दाबी गर्न आएका छैनन् । उक्त डोजर आफूहरूलाई निल्नु न ओकल्नु भएको कार्यालयले जनाएको छ ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रयोगविहीन अवस्थामा रहेका गाडी र मोटरसाइकलको विवरण सङ्कलन गरिएको बताउनुभयो । हालसम्म प्राप्त जानकारी अनुसार जिल्लामा चार वटा गाडी र ३८ वटा मोटरसाइकल लिलाम बिक्री गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । ती गाडी लामो समयदेखि नवीकरण नभएकाले लिलाम बिक्रीमा समस्या रहेको शर्माले बताउनुभयो ।

शर्माका अनुसार पहिले सवारी नवीकरण नगरी लिलाम बिक्री पनि गर्न नसकिने भएकाले सम्बन्धित कार्यालयमा बजेट पनि नभएकाले समस्या छ । यसका साथै विभिन्न प्राविधिक समस्या रहेकाले समस्या समाधान गर्न पहल गर्दै आएको उहाँ बताउनुहुन्छ ।