• १६ भदौ २०८१, आइतबार

परिवर्तनका लागि लगानी अभिवृद्धिको वातावरण आवश्यक

blog

काठमाडौँ, भदौ ३ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानी अभिवृद्धि गर्न वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहको बताउनुभएको छ । उहाँले वर्तमान सरकार बनेयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास भइरहेको भन्दै निजी क्षेत्रसँग निरन्तर संवाद गरी यस्तो वातावरण निर्माणमा सरकार  क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार आयोजना गरेको दिगो अर्थतन्त्र निर्माणसम्बन्धी संवाद कार्यक्रममा उहाँले उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल गरिरहेको जानकारीसमेत गराउनुभयो । उहाँले तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका लागि काम गरिरहेको बताउनुभयो । “आर्थिक सुधारका लागि गठन हुने उच्चस्तरीय सुधार आयोगले अध्ययन गरी अल्प, मध्य र दीर्घकालीन सुधार गर्ने छ,” उहाँले भन्नुभयो, “सरकारले बनाउने कुनै पनि कानुन एकहोरो ढङ्गले लाद्ने प्रवृत्तिको हुँदैनन् ।” 

सङ्घीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सांसद सहभागी सो कार्यक्रममा उनीहरूले निजी क्षेत्रमैत्री नीति निर्माणमा आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाएका छन् । सो कार्यक्रममा उपस्थित सांसदहरूले निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गरिने बताए । 

महासङ्घले संसद्मा विचाराधीन र निजी क्षेत्र सम्बद्ध करिब डेढ दर्जन कानुन सुधारमा दफावार रूपमा उद्यमी व्यावसायीका तर्फबाट सुझाव प्रस्तुत गरेको थियो । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारको उल्लेख गर्नुभयो । उहाँले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठुला उद्योगको दर्ता हुने  क्रम बढेको जानकारी दिनुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संसद्मा विचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको बताउनुभयो । 

संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले बैङ्क वित्तीय संस्थासम्बन्धी कानुनमा छलफल भइरहेको बताउँदै यसमा बृहत् छलफल गरी निर्णय गरिने बताउनुभयो । 

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले लगानी निरुत्साहित हुने नीतिका कारण निजी क्षेत्र समस्यामा पर्ने गरेको बताउनुभयो । लगानी विस्तार निजी क्षेत्रले गर्ने हुँदा उद्यमी व्यवसायीलाई निर्बाध काम गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । कानुन न्याय तथा मानव अधिकार समिति सभापति विमला समितिले निजी क्षेत्रलाई काम गर्न कानुन बाधक नहुने बताए । 

नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले निजी सामाजिक न्यायसहितको निजी क्षेत्रका आर्थिक गतिविधिलाई अगाडि बढाउन आफ्नो पार्टी सधैँ तयार रहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले परम्परागत रूपमै उद्यमी व्यवसायीको मान कम हुने गरेको र अहिले पनि सोही प्रवृत्ति रहेको बताउनुभयो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराउनुभयो । निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त देखिसकिएको बताउँदै अध्यक्ष ढकालले कानुनसम्मत व्यवसाय गर्न अवरोध गर्न नहुने बताउनुभयो ।