• १६ भदौ २०८१, आइतबार

शिवपुरीमा नयाँ झरना पहिचान, पदयात्रा सुरु

blog

नुवाकोट (थानापती), भदौ ३ गते । जिल्लाको शिवपुरी–८ स्थित गोकुलेश्वर झरनामा पदयात्रा शुभारम्भ भएको छ । राजधानी काठमाडौँबाट नजिकै पर्ने उक्त झरनामा व्यावसायिक पदयात्रा र अवलोकनको काम शनिबारबाट सुरु गरिएको हो । स्थानीय गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिको पहलमा गोरेटो बाटोसमेत बनाई प्रचारप्रसारको काम भएको हो । गोकुलेश्वर झरना पदयात्रा शुभारम्भ पर्यावरण अभियन्तासमेत रहनुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले गर्नुभएको हो ।

अध्यक्ष बस्नेतले उक्त कार्यक्रमको सुरुवात गर्दै गोकुलेश्वर झरना र सँगै रहेको गोकुलेश्वर महादेव दर्शनका लागि पर्यटक भित्र्याउन सके स्थानीयको आयआर्जन बढ्ने बताउनुभयो । प्रकृतिमाथि अहिले विभिन्न अन्याय भइरहेको सन्दर्भ राख्दै उहाँले स्थानीय जनसमुदाय आफैँले पहल गरेर झरनासहितको पर्यटकीय स्थान पहिचान गरेर न्याय दिलाएकोमा खुसी प्रकट गर्नुभयो ।

प्रकृतिलाई हामीले बचाउन सक्यौँ भने मात्र हामी पनि बाँच्छौँ । हाम्रा पुस्तासमेत सुरक्षित हुन्छन्, अध्यक्ष बस्नेतले भन्नुभयो, “शिवपुरी क्षेत्रका खोलानाला, वन, झरनासहितका सम्पदाको संरक्षण र उपयोग गर्न सके स्थानीय जनताको जीवनस्तर राम्रो हुने पक्का छ ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा पर्ने यो स्थल काठमाडौँबाट सामाखुसी, गुरुजेभन्ज्याङ काफलडाँडासम्म टोखा छहरे सडक हुँदै वाइक वा निजी गाडीबाट सजिलै पुग्न सकिन्छ । मुख्य मार्गमा झरेर झरनासम्म पुग्न करिब चार/पाँच मिनेट पैदल हिँड्नु पर्छ । हालै स्थानीय बासिन्दाले पदमार्ग निर्माण गरेका छन्, जसले यात्रा अझ सहज बनाएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले स्थानीयको अग्रसरतामा स्थानीय सरकार सधैँ साथ रहेको र शिवपुरीको सम्पूर्ण पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले प्रथमिकतामा राखेकोसमेत बताउनुभयो ।