• १६ भदौ २०८१, आइतबार

नुवाकोट कारागार सञ्चालनको तयारी

blog

काठमाडौँ, भदौ ३ गते । उपत्यका र आसपासका कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीको समस्या समाधान गर्न सरकारले नुवाकोटमा निर्माणाधीन प्रस्तावित केन्द्रीय कारागार सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

काठमाडौँ सुन्धारस्थित केन्द्रीय कारागार (जगन्नाथ देवल) डिल्लीबजार कारागार र ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी रहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने योजना अनुरूप नुवाकोट कारागार सञ्चालन गर्ने तयारी भएको हो । कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार एक हजार ३७० क्षमताको निर्माणाधीन नुवाकोट कारागार तत्काल सञ्चालन गर्ने गरी विभागले प्रक्रिया अघि बढाएको छ ।

कारागार व्यवस्था विभागका महानिर्देशक, जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनालगायत जिल्ला सुरक्षा समिति, कारागार निर्माण गर्ने ठेकेदार कम्पनी तथा विदुर नगरपालिकाबिच १५ दिनभित्र कारागार सञ्चालन गर्ने सहमति भएको उहाँले बताउनुभयो । 

छलफलमा कारागार भवन निर्माण कम्पनीले एक हप्ताभित्र भवनका सम्पूर्ण काम पूरा गरेर सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइलाई बुझाउने छ ।

त्यसलगत्तै उक्त कारागार गृह मन्त्रालयमार्फत कारागार व्यवस्थापन विभागलाई हस्तान्तरण गर्ने अन्तिम तयारीसमेत भइसकेको छ । कारागारसम्म पुग्ने सडक विदुर नगरपालिकाले बनाउने सहमति भएपछि उक्त सडकको मर्मत र स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । 

क्षमताका दृष्टिले मुलुककै ठुलो र व्यवस्थित सो कारागार सञ्चालन गर्नुअघि कारागारको सुरक्षा, विभिन्न स्थानमा रहने सुरक्षा पोस्ट तथा आवश्यक सुरक्षाकर्मी राख्नेबारे कारागार व्यवस्था विभागले गृह मन्त्रालयसँग समन्वय अघि बढाइसकेको जनाएको छ । 

विभागका निर्देशक पाण्डेका अनुसार कारागार सञ्चालन गर्दा पहिलो चरणमा जिल्ला कारागार नुवाकोटमा रहेका १५९ जना कैदीलाई स्थानान्तरण गर्ने र त्यसलगतै केन्द्रीय कारागार जगन्नाथदेवल डिल्लीबजार कारागार र नख्खु कारागारमा क्षमताभन्दा बढी रहेका एक हजार दुई सय जना कैदीबन्दीलाई स्थानान्तरण गर्ने योजना रहेको छ ।

विभागका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सो कारागारमा सिप तथा स्वरोजगार तालिम, खेलकुद तथा व्यायामशाला, स्वास्थ्य केन्द्रलगायत स्थापना गर्ने तयारीसमेत अघि बढेको छ ।