• २ भदौ २०८१, आइतबार

पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा

blog

रमेश पौडेल 

पोखरा, भदौ २ गते । पाल्पाको ऐतिहासिक लाखे नाच शनिबार राति पोखरामा प्रदर्शन भएको छ । पोखराको न्यूरोडस्थित सिटिजन फर्निचरको आयोजनामा उक्त नाच प्रदर्शन गरिएको हो ।

पाल्पाबाट आएका ४१ जना कलाकारको समूहले सो लाखे नाच प्रस्तुत गरेका थिए । नेवारी संस्कृतिको नाच भनिए पनि बाहुन, क्षेत्री, मगरलगायत अन्य समुदाय व्यक्ति पनि नाचमा सहभागी रहेको सो समूहका संस्कृतिकर्मी धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले कला र संस्कृति कुनै जात र समुदायको नहुने भएकाले सम्पूर्ण पाल्पाबासीले स्वामित्व लिँदै आएको बताउनुभयो । मेलमिलाप, सहकार्य र आपसी सद्भावबाट नेपाली कला संस्कृतिको संरक्षण गर्न सकिने उहाँको भनाइ थियो । पाल्पाको लाखे नाच लोकप्रिय भएकाले काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङलगायत सहर पुगेर देखाइसकिएको जानकारी उहाँले दिनुभयो ।

पोखरामा रहेर सिटिजन फर्निचर व्यवसाय गर्दै आउनुभएका पाल्पाली व्यवसायी गुरुदत्त पौडेल र दिपक कार्कीको अनुरोधमा सो लाखे नाच प्रस्तुत भएको हो । 

पाल्पा रिब्दीकोटस्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाच–२०८१ टोली कलाकार, बाजागाजासहितको टोलीले लाखे नाच प्रस्तुत गर्दा पोखरेलीले मनोरञ्जन लिएका थिए ।