• २ भदौ २०८१, आइतबार

राष्ट्रिय सभा बैठक: सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

blog

काठमाडौँ, भदौ २ गते । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । 

सभाको आजको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्माणार्थ प्रस्तुत गर्नुभएकामा सर्वसम्मतिले स्वीकृत भएको हो । अध्यक्ष दाहाल प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको घोषणा गर्नुहुँदै विधेयमा संशोधन राख्न चाहनुहुने सदस्यलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम १०६ बमोजिम सभाअन्तर्गतको विधेयक शाखामा प्रस्ताव दर्ताको निम्ति आग्रह गर्नुभयो ।  

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसदहरू पदमबहादुर परियार, रेणु चन्द, विष्णुबहादुर विश्वकर्मा, रुक्मिणी कोइराला, किरणबाबु श्रेष्ठ र मायाप्रसाद शर्माले भाग लिनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ६ गते दिउँसो १ः१५ बजे बस्नेछ । रासस