• २ भदौ २०८१, आइतबार

बाँकेमा ३५ हजार हेक्टर बढी क्षेत्रमा धान रोपाइँ

blog

बाँकेको डुडुवामा धान रोपाइँ सम्पन्न गरिएपछिको अवस्था।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ २ गते। बाँके जिल्लामा पर्याप्त वर्षा भएपछि धान रोपाइँ सम्पन्न भएको छ। जिल्लामा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। 

कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनीश श्रेष्ठले पछिल्लो समय वर्षा राम्रो भएपछि जिल्लामा रोपाइँ सम्पन्न भएको बताउनुभयो। उहाँले बाँकेमा यस वर्ष ३५ हजार पाँच सय हेक्टर जग्गामा धान रोपाइँ गरिएको जनाउँदै वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले धान खेती हुने अधिकांश जग्गामा रोपाइँ पुरा भएको बताउनुभयो। 

अधिकृत श्रेष्ठले यस वर्ष ३४ हजार ८५० हेक्टर जग्गामा धान रोपाइँ हुने अनुमान गरिएकोमा अनुमान गरिएभन्दा बढी रोपाइँ भएको बताउनुभयो। 

जिल्लाका अन्य क्षेत्रहरूमा केही समय अघि नै रोपाइँ सम्पन्न भए पनि सिँचाइ सुविधा कम भएको नरैनापुर गाउँपालिकामा अन्तिममा आएर रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। 

जिल्लाका राप्तीसोनारी जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिका तथा कोहलपुर नगरपालिकामा भने रोपाइँ यसअघि नै पुरा भएको थियो। 

यस वर्ष बिउँ राख्ने र रोपाइँ गर्ने समयमा पानी नपरेकोले रोपाइँ पुरा नहुने आशङ्कामा स्थानीय किसान निकै चिन्तित बनेका थिए। जिल्लामा अधिकांश किसानले आकाशे पानीकै भरमा खेती गर्दै आएकोले वर्षा ढिला हुँदा रोपाइँमा पनि ढिलाइ हुने गरेको किसानको भनाइ छ। 

डुडुवा ६ का किसान केलाराम महाउतले पछिल्लो समय वर्षा राम्रो भएपछि रोपाइँ सम्पन्न गरिएको बताउनुभयो। 

वर्षा ढिलै भए पनि यस वर्ष जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।