• २ भदौ २०८१, आइतबार

मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

blog

मध्यपहाडी राजमार्गको चौरजहारी नगरपालिका ८ कालेखोलामा गएको पहिरो । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ २ गते । लगातार वर्षाको कारण गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमपश्चिम खण्ड आइतबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको विभिन्न स्थानमा पहिरो गएकोले पन्छाउने कार्य समेत सफल हुन सकिरहेको छैन । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले राजमार्गको रुकुमपश्चिम खण्डको करिब एक दर्जन स्थानमा पहिरो गएको बताउनुभयो । चौरजहारीदेखि रुकुमपूर्वको सिमानासम्म विभिन्न स्थानमा पहिरो झर्ने क्रम समेत रोकिएको छैन । पहिरो रोकिएका केही स्थानमा पालिकाको डोजर लगाएर पहिरो पन्छाउने कार्य भइरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

भारी वर्षाको कारण चौरजहारी नगरपालिका–८ को कालेखोला, सानीभेरी गाउँपालिका–१ को पक्रैया, चाईनाबगर, वडा नम्बर ७ को सहरे लगायतका स्थानमा पहिरो खसेको छ। पहिरोको कारण दर्जनौँ यातायातका साधन र यात्रुहरू बाटोमै अलपत्र अवस्थामा छन् । पहिरोकै कारण पक्रैया र चाईनाबगर बिरामी बोकेर गएका एम्बुलेन्स समेत रोकिएका छन्। 

सानीभेरी गाउँपालिका १ का वडा अध्यक्ष टेकबहादुर पुनले गाउँपालिकाको डोजर लगाएर चाइना बगरको पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । चाईनाबगरदेखि गिठाकोटसम्मका विभिन्न स्थानमा गएको पहिरो हटाएको तर माथिबाट पहिरो खस्ने कार्य नरोकिएको उहाँले जानकारी दिनुभयो । 

पहिरोको कारण बिहानैदेखि रुकुमपश्चिमबाट मध्यपछाडि हुँदै चौरजहारी, जाजरकोट, सुर्खेत, नेपालगन्ज जाने यातायातका साधनहरू रोकिएका छन् । चौरजहारी तर्फबाट जिल्ला सदरमुकाम आउने कुनै पनि यात्रुवाहक बसहरू आज चलेका छैनन् ।