• २ भदौ २०८१, आइतबार

पर्यटकको पर्खाइमा चन्डीभञ्ज्याङ सुरुङ

blog

चन्डीभञ्ज्याङ सुरुङमा स्थानीय पर्यटक । तस्विरः विन्दु थापा

बिन्दु थापा 

पाल्पा, भदौ २ गते । तानसेन नगरपालिका –११ मा रहेको चन्डीभञ्ज्याङ सुरुङ यतिबेला पर्यटकको पर्खाइमा छ । करिब सय बर्ष पुरानो सुरुङबाट तानसेनमा खानेपानी ल्याउनका लागि खनिएको थियो । 

जंगबहादुर राणाको भाइ बद्रिनरसिंहले खानेपानी व्यवस्थित गर्न सुरुङको योजना बनाएको र बद्रिनरसिंहको मृत्यूपछि प्रताप शमसेरले खनेको इतिहासविद निर्मल श्रेष्ठले जानकारी दिनुभयो । 

खानेपानी पाइप व्यवस्थित बनाउँदै सुरुङलाई पर्यटकीय गन्तव्यको रुपमा लैजानुपर्ने इतिहासविद निर्मल श्रेष्ठको भनाइ छ । खानेपानीको समस्या समाधान गर्न बद्रिनरसिंहले पधँेरा कुवा बनाउनुभएको थियो । 

त्यसताका सिंहले १९११ देखि १९२९ सम्म बसेर पाटिपौवा बनाउने दरवार निर्माण ढुङगेधारा निर्माण गर्ने काम गर्नुभयो । त्यसपछि प्रताप समशेर तैनाथवाला भएर आउने बित्तिकै खानेपानी व्यवस्थित गर्न लसुनेमा, वडा –१ को गोर्खेकोटमा जर्नल धारा निर्माण गर्नुभएको स्थानीयको भनाइ छ ।  

खानेपानी सुधारका लागि मिठो पानीको खोजीमा मूलको पानी खोजी गर्दा बाझामा मूल भेटियो । सहरदेखि टाढाबाट पानी ल्याउन समस्या भएपछि डाँडा छेडेर सुरुङ बनाइएको हो । नेपालमा सानो सुरुङ भए पनि पहिलो सुरुङ भएको स्थानीय बुद्धिजीवीको भनाइ छ । 

टिकट सिस्टम गरेर पर्यटकीयस्थल बनाउनु पर्ने स्थानीय शान्ता बोहोराको भनाइ छ । पुरानो संरचनामा बनेको सुरुङमा प्रयोग गरिएको ईटा, ढुङगाहरु बलियो भएका कारण बिग्रिएको छैन । आजभोलि सुरुङको अवलोकन गर्नेको भिड छ । 

अहिलेजस्तो डोजर प्रविधिको सुविधा नहुँदा पनि कसरी सूरुङ बन्यो होला भनेर हेर्न र फोटो खिच्न आउनेको सङख्या बढ्दो छ । सुरुङ बनाएर पानी ल्याउन सय बर्ष पहिले कसरी निर्माण भयो होला भनेर हेर्ने उत्सुकताले सुरुङको अवलोकन गर्न आएको तानसेन नगरपालीकाका रचना कार्कीले बताउनुभयो ।

सुरुङको मर्मत सम्भार र संरक्षणका लागि वडाको पहलमा ५ लाख रुपियाँ बजेट छुट्टयाएर सुरुङको व्यवस्थित गरिएको तानसेन नगरपालिका –११ का अध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो । ऐतिहासिक चन्डिभञ्ज्याङ सुरुङ करिब २ सय पचास मिटर लामो छ ।