• २ भदौ २०८१, आइतबार

अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न

blog

सन्धिखर्क नगरपालिका-२ स्थित फाँटमा रोपिएको धान । तस्बिर : राधा नेपाली

राधा नेपाली

सन्धिखर्क, भदौ २ गते । अर्घाखाँचीमा सत प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार सकिएसँगै रोपाइँ पनि सकिएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । यस वर्ष समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । कृषकले यतिवेला रोपिएको धानमा युरिया मल राखिरहेका छन् । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । 

समयमा पानी परेकाले धान उत्पादनमा वृद्धि हुने केन्द्रले गरेको छ । केन्द्रका प्रमुख बुद्धिराज घिमिरेले भन्नुभयो, “यस वर्ष समयमै पानी परेकाले रोपाई सकिएको छ । चारदेखि पाँच प्रतिशतसम्म धान उत्पादनमा वृद्धि हुनसक्ने सम्भावना छ । धानको फुल फुल्ने वेलामा पनि पानी पर्‍यो भने राम्रो उत्पादन हुन्छ ।”   

जिल्लामा प्रतिहेक्टर ३.६१ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । अर्घाखाँचीमा वार्षिक ८० करोड रुपैयाँको धान उत्पादन हुँदै गरेको प्रमुख घिमिरेले बताउनुभयो । नेपालको प्रमुख बालीको रूपमा रहेको धान उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न कृषकलाई अनुदान र खेतीयोग्य जमिनको वर्गीकरण जरुरी रहेको उहाँको भनाइ छ । 

जिल्लामा पछिल्लो समय हाइब्रिड जातको धान बढी रोपिने गरिन्छ । स्थानीय जातहरू खुमल चार, पोख्रेलीलगायतका धानहरू समेत लगाइँदै आएको सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताउनुभयो । 

प्रमुख घिमिरेले भन्नुभयो, “जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूल प्रविधि र विकास कृषकसम्म पुर्‍याउन आवश्यक छ ।” 

ट्याक्टरबाटै धान रोप्ने आधुनिक प्रविधि आएपनि पहाडमा साना खेतहरूमा मान्छेले नै रोप्दै आएका छन् । केन्द्रका अनुसार जिल्लामा ६० प्रतिशत गोरुमार्फत परम्परागत रूपमै धान खेती गरिँदै आएको छन् । ४० प्रतिशतले भने ट्याक्टरलगायतको आधुनिक प्रविधिबाट धानखेती गर्दै आएका छन् । पछिल्लो समय आधुनिक प्रविधि प्रयोग गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको तर भौगोलिक अवस्था र गरिबीका कारणले पनि आवश्यक प्रविधिको प्रयोग हुन नसकेको प्रमुख घिमिरेले बताउनुभयो ।