• २ भदौ २०८१, आइतबार

तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु

blog

फाइल तस्बिर ।

रमेश विश्वकर्मा

गुल्मी, भदौ २ गते । गएराति परेको अविरल वर्षाका कारण अवरुद्ध भएको तम्घास-रिडी-खर्ज्याङ्ग सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलका अनुसार गुल्मीका विभिन्न सात स्थानका सडक अवरुद्ध भएका थिए ।

रुरुक्षेत्र गाउँपालिका १, रातामाटास्थित तम्घास-रिडी पक्की सडक खण्डमा ढुङ्गा, माटोसहितको पहिरो र यसै वडाको ठाडोखोलास्थित रिडी-खर्ज्याङ्ग सडक खण्डमा लेदो माटो खस्दा अवरुद्ध भएको थियो । गुल्मीदरबार गाउँपालिका-३, गौडाकोट र वडा नम्बर-४, बिरबासस्थित तम्घास-रिडी सडक खण्डमा अविरल वर्षाको कारण माथिबाट लेदो माटो आउँदा बाटो अवरुद्ध भएको थियो । अवरुद्ध बाटोलाई स्थानीय जनप्रतिनिधिसँगको समन्वयमा जेसिबिको सहयोगमा सुचारु गरिएको छ । 

यता, रुरुक्षेत्र गाउँपालिका-२, अचम्मेश्वर मन्दिरस्थित रिडी-रुद्रवेणी सडक खण्डमा लेदो माटो खस्दा बाटो अवरुद्ध भएको छ । सत्यवती गाउँपालिका वडा नम्बर-६, उल्लीखोलामा अविरल वर्षाका कारण डहरेखोलाको पानीको बहाव बढ्दा रुद्रवेणी-वामी सडक खण्ड बाटो पूर्णरुपमा बन्द भएको छ ।

त्यस्तै, गुल्मीदरबार गाउँपालिका ४, वल्लो बिरबास (सानो बिरबास) मा सडक भासिएको छ । भासिएको सडक मर्मत गर्न पहल भइरहेको छ । अवरुद्ध बाटो खुलाउनको लागि स्थानीय जनप्रतिनिधिसँग समन्वय भइरहेको छ । अविरल वर्षाको कारण छत्रकोट गाउँपालिका-५, दुमैस्थित स्थानीय वर्षीय राम बहादुर बुचाको घरमा क्षति पुर्‍याएको छ ।

दुमै खोलाले बुचाको दुई तले टिनले छाएको कच्ची घर र कुखुरा बाख्राको खोर बगाउँदा दुई वटा बाख्रा, १४-१५ वटा कुखुरा बगाएको छ । घरको बरण्डामा राखिएको नम्बर नखुलेको स्कुटर, घरभित्र रहेको सम्पूर्ण सामान बगाएको छ भने, मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो ।