• २ भदौ २०८१, आइतबार

रोल्पामा पहिरोले पुरिँदा एकको मृत्यु

blog

जयमान बुढामगर

रुकुमपूर्व, भदौ २ गते । लगातार वर्षापछि आएको पहिरोले घर भत्किँदा रोल्पाको लिबाङमा एक महिलाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार पहिरोले लिबाङ स्थित मण्डली भत्किँदा आइतबार बिहान महिलाको मृत्यु भएको हो । 

आइतबार बिहान ४ बजेतिर रोल्पा नगरपालिका–२ मूल पानीमा रहेको बेथेल मण्डली भत्किँदा भित्र रहेका रोल्पा नगरपालिका–१० धाङसीकी ७० वर्षीया धनजिता बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अत्यधिक वर्षापछिको पहिरोले निर्माणाधीन मण्डली भत्किँदा पुरिएर ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता तथा प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभयो । 

उक्त घटनामा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ मौलावन घर भई सोही मण्डलीमा बस्ने १८ वर्षीया नौभा घर्ती मगर घाइते भएका छन् । उहाँलाई उपचारका लागि रोल्पा अस्पताल रेउघामा पुर्‍याइएको छ । उक्त मण्डलीमा १० जना बस्दै आए पनि अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ ।