• २ भदौ २०८१, आइतबार

सुन्दर सिमकोट

blog

कर्णाली प्रदेशको हुम्लामा सिमकोट गाउँपालिका छ । यस गाउँपालिकाको स्थापना २०७३ साल फागुनमा भएको हो । यस गाउँपालिकाको पूर्व र दक्षिणमा खार्पुनाथ गाउँपालिका तथा पश्चिम र उत्तरमा नाम्खा गाउँपालिका रहेको छ । गाउँपालिकालाई गणतन्त्र स्थापना हुनुअगाडि गाउँ विकास समिति भनिन्थ्यो । सिमकोट, वरगाउँ, ठेहे, डाँडाफया र स्याँडा गाउँ विकास समितिलाई जोडेर सिमकोट गाउँपालिका बनाइएको हो । यस गाउँपालिकामा आठ वटा वडा छन् ।

सुन्दर प्राकृतिक बनोट, जैविक विविधताले भरिपूर्ण र विविधतापूर्ण जातीय पहिचान रहेको यस गाउँपालिकाको क्षेत्रफल ७८५.८९ वर्गकिलोमिटर रहेको छ । नेपालको सबैभन्दा बढी उचाइमा रहेको जिल्ला सदरमुकाम सिमकोट हो । जिल्ला सदरमुकामकै नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । यसको उचाइ समुद्री सतहबाट दुई हजार ९४५ मिटर रहेको छ । यहाँ हिन्दु, बौद्ध, किरात र क्रिश्चियन धर्मालवम्बीको बसोबास छ । खार्पुनाथ शिवालय, रलिङ गुम्बा र हुम्ली ढुङ्गा यहाँको परिचय हो । 

राष्ट्रिय जनगणना, २०७८ अनुसार सिमकोट गाउँपालिकामा दुई हजार ८८२ घरधुरी रहेको छ । गाउँपालिकाको जनसङ्ख्या ११ हजार ९३५ रहेको छ । तीमध्ये महिलाको सङ्ख्या पाँच हजार ८८८ र पुरुषको सङ्ख्या छ हजार ४७ जना छ । कुल जनसङ्ख्याको ४.५ प्रतिशत अपाङ्गता भएकाहरू छन् । 

गाउँपालिकाभरि २१ वटा सामुदायिक विद्यालय रहेका छन् भने चार वटा संस्थागत (निजी) विद्यालय छन् । यी विद्यालयमा प्रारम्भिक बालविकासमा ८५१ जना बालबालिका छन् । कक्षा १ देखि ५ सम्म एक हजार ८५० जना, कक्षा ६ देखि ८ सम्म ८५० जना तथा कक्षा ८ र १० मा ६५१ जना विद्यार्थी छन् । गाउँपालिकाले २०८१ सालको शैक्षिक सत्रबाट ‘हाम्रो सिमकोट’ नामको स्थानीय पाठ्यक्रम तयार पारेर कक्षा १ देखि ८ सम्म पठनपाठन सुरु गरेको छ । उच्च शिक्षाका लागि मानसरोवर बहुमुखी क्याम्पस छ । सिमकोट गाउँपालिकाको साक्षरता दर ६४.४ प्रतिशत रहेको छ । 

यस गाउँपालिकाको चिनो, कोदो, फापर, कागुनो, जौ, उवा, सिमी, आलु मुख्य उत्पादन हो । स्याउ, ओखर, चुली खाँबु फलफूल पनि उत्पादन गरिन्छ । जडीबुटीको पनि राम्रो सम्भावना रहेको छ । कर्णाली र दोजाम कर्णाली यस गाउँपालिकाका मुख्य नदी हुन् । पञ्चमुखी हिमाल, लडे र दुधे हद पनि पर्यटकीय स्थलका रूपमा रहेका छन् ।

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले प्रविधिमैत्री सेवामा जोड दिई छिटो र छरितो सेवा प्रदान गर्ने प्रयास गर्दै आएको बताउनुभयो । कर्णाली नदीमा पुल नबनेकाले अझै पनि यो जिल्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन । हिँडेर धेरै दिन लाग्ने भएकाले विमानबाट गाउँपालिका पुग्न सकिन्छ । नेपालगन्जदेखि सिमकोटसम्म विमान सेवा सञ्चालनमा छ । 

  

Author

राजन रावत