• २ भदौ २०८१, आइतबार

थामे प्रकोपको सन्देश

blog

प्रकृतिको प्रकोप पृथ्वी जगत्को पीडा हो । बाढी, पहिरो, डुबान, भूकम्प, ज्वालामुखी, डढेलो आदिले पृथ्वीका अनेक भूभागलाई तरह तहरले पीडा दिइरहेको हुन्छ । पृथ्वीका सबै भूखण्ड समान छैनन् । कतिपय भूखण्ड उच्च प्राकृतिक प्रकोपका क्षेत्रमा पर्छन् भने कतिपय भूखण्ड तुलनात्मक रूपमा सुरक्षित छन् । हिमाली मुलुक नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा पर्दै आएको छ । हिमाली तथा पहाड भेगमा बाढी, पहिरोले बर्सेनि धेरैतिर दुःख दिइरहेको छ भने तराई क्षेत्रमा बर्सातमा डुबानले अनेक क्षेत्र पीडामा छन् । राजधानी रहेको काठमाडौँ उपत्यकाका कतिपय क्षेत्र नै केही दिनअघिको बर्सातमा डुबानमा परे । प्रकोप पीडाको सिलसिलामै हिमाली जिल्ला सोलुखुम्बुको दुर्गम गाउँ थामे शुव्रmबार दुःखको महासागरमै परेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत रहेको पालिका हो । विश्व पर्यटनमै आफूलाई चिनाउने यो गाउँपालिकामा अनेक सुन्दर हिमाली बस्ती छन् । नाम्चे, खुम्बजुङ, थामेलगायतका अनेक सुन्दर बस्ती यस भेगमा अवस्थित छन् । खुम्बु पासाङल्हामु–५ मा पर्ने थामे उच्च हिमाली भेगको सुन्दर बस्तीका रूपमा चिनिन्थ्यो । यो बस्ती केवल गाउँ जस्तो मात्र नभई पर्यटकीय पूर्वाधार भएको बस्तीसमेत थियो । यो बस्तीमा शुक्रबार एक्कासि भेल पहिरो आयो । गाउँकै बिचबाट बग्ने थामेखोलामा एक्कासि आएको भेल पहिरोले क्षणभरमै गाउँलाई स्वाहा बनायो । 

बाढीले खुम्बु पासाङल्हामु–५, थामेका २० घर, होटेल तथा लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको छ । यो क्षेत्र ग्रामीण बस्ती भए पनि कतिपय घरलाई होटेल तथा लजका रूपमा विकसित गरिएका थिए । पर्यटकीय सिजनमा ती घर तथा होटेलमा पर्यटकको बाक्लो चहलपहल हुने हुँदा गाउँमा ठुलो पर्यटकीय पूर्वाधार विद्यमान थियो । भेलबाढीले क्षणभरमै क्षति गरेको छ । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत्गृह पूर्ण रूपले क्षतिग्रस्त बनाएपछि यो क्षेत्र पूरै अन्धकारमा परेको छ । पर्यटकीय क्षेत्र भएकाले धेरै पहिल्यै त्यस क्षेत्रमा विद्युत् उत्पादन गरी गाउँ उज्यालो भएको थियो । हिमाली बस्ती भए पनि पर्यटकलाई समेत सेवा दिने गरी पूर्वाधार भएको स्वास्थ्य चौकी पनि भेलबाढीले पूर्ण रूपमै क्षतिग्रस्त बनाएको छ । 

थामेखोला भोटखोला हुँदै दुधकोशी नदीमा मिसिन्छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा अनेक क्षेत्र पर्यटकीय पदमार्ग छन् । ती पदमार्गले थामेखोला तथा दुधकोशीलाई अनेक पटक पार गरेका छन् । त्यस भेलबाढीले ती सुन्दर पर्यटकीय पदमार्गका साँघु, पुल तथा मोटरेबल पुलसमेत तहसनहस पारेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका भोटेकोशी–३, फाक्दिङदेखि नाम्चे जाने क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । प्रतिकूल मौसमका कारण शुक्रबार थामे क्षेत्रमा बाहिरबाट गई उद्धार सम्भव नभए पनि शनिबार बिहानैदेखि उद्धार गर्न नेपाली सेना र नेपाल प्रहरी पुगेर आवश्यक काम गरिरहेका छन् । प्राप्त जानकारी अनुसार नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मी क्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदुधकोशी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । 

बाढीले दुधकोशी नदीका तटीय क्षेत्र उच्च जोखिममा छन् । बाढी भोटेखोला हुँदै दुधकोशीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा समेत क्षति पुगेको छ । बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका जोड्ने दुधकोशी नदीमाथिको पक्की मोटरेबल पुलमा समेत क्षति पुगेको छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली शनिबार पुगेर सङ्घीय सरकारको उपस्थिति जनाएको छ । माटोको लेदोसहितको भेलबाढी के कारणले आएको थियो भन्ने यकिन जानकारी शुक्रबार थाहा थिएन तर शुक्रबार मन्त्री राईसहितको टोलीले हवाई निरीक्षण गर्दा थामे गाउँको शिरमा रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेको देखिएको छ । अन्य दुई वटा ताल अझै जोखिममा छन् । विश्व तापमान क्रमशः बढ्दै गएको अवस्थामा नेपालका धेरै हिमताल पग्लँदै जोखिममा छन् । ती ताल कुनै पनि बेला फुटेर थामे गाउँमा आएको विपत्ति जस्तै हुन सक्छन् । यस्ता जोखिमबाट बच्न नेपालले विश्व समुदायलाई आह्वानका साथै आन्तरिक तवरमा पनि तयारी गर्नुपर्ने छ । कम्तीमा थामेको भेलबाढीले यही सन्देश दिएको छ ।