• १ भदौ २०८१, शनिबार

झापाबाट चरनक्षेत्र विस्तार गर्दै हात्ती

blog

विष्णुप्रसाद पोखरेल

दमक, भदौ १ गते। झापाको मेचीनगरको बाहुँण्डागी क्षेत्रमा दैनिक दर्जनौको संख्यामा देखिने गरेका हात्तीले आफ्नो खानपिन तथा आहाराको खोजीमा नयाँनयाँ ठाँउ रोज्न थालेको पाइएको छ। चुरेसँग जोडिएको पहाडी जिल्ला इलामको सूर्योदयन गरपालिका, रोङ गाँउपालिका क्षेत्रमा हात्तीहरु देखिन थालेको हात्ती सूचना केन्द्रले जनाएको छ।

हात्ती सूचना केन्द्रलाई इलिस पौड्यालले जानकारी गराएको विवरण अनुसार सलकपुर क्षेत्रमा दुई सातादेखि १४ वटा हात्ती देखिएका छन्। नेपाल र भारतको सीमा मेची खोलाको किनार नै किनार हात्ती सलकपुर पुगेको बताइन्छ। यहाँ जंगलमा खानेकुरा र पानी पर्याप्त भएर हात्ती रत्तिएको हुनसक्ने जनाइन्छ।

हात्तीको आनीबानीबारे जानकार तथा हात्ती सम्बन्धी अनुसन्धान गरिरहनु भएका शंकर लुइटेलका अनुसार २ वटा सानो भाले सहित १४ वटा हात्तीको एउटा समुह संगै हिडडुल गरिरहेको छ। यो समूहमा १२ वटा पोथी हात्ती रहेका छन्। अहिलेसम्म इलाममा बस्तीमा पसेर हात्तीले कहि कतै क्षति नपुर्याएको बताइन्छ।

लुइटेलका अनुसार पहाड चढेका हात्ती कम उमेर समूहका भएकाले उनीहरुले सुरक्षित स्थल खोज्दै त्यता गएको हुनसक्छ। पहाडमा अलैँची, केरा, अम्रिसो, बाँस लगायतका खानेकुरा खान पाउने र मौसम समेत राम्रो भएकाले त्यतैतिर हात्ती रमाएकाहुन सक्छन्, लुइटेलको भनाइ छ।

तराईमा हात्तीको चरणक्षेत्र कम हुँदा चरण क्षेत्र बिस्तार गर्न थालेको, पहाडमा खानेकुराको स्वाद राम्रो र पहाडी क्षेत्रमा मानिसबाट हात्तीले अहिलेसम्म असुरक्षित महसुस नगरेकाले यहाँ रमाउन थालेकाले अब हात्ती पहाडतिर चढ्न थालेकाले पहाडी क्षेत्रमा पनि शर्तकता अपनाउनु पर्ने लुइटेलको सुझाव छ।

चरा तथा वन्यजन्तुको संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था एवम् संरक्षणकर्मीको अग्रसरतामा झापासँग सीमा जोडिएको इलामको रोङ गाउँपालिका वडा नम्बर ६ सलकपुरमा पहिलो पटक हात्ती सम्बन्धी सचेतनामुलक कार्यक्रम पनि सुरु गरिएको अभियानकर्मी देवेन्द्र खरेलले बताउनुभएको छ।