• १ भदौ २०८१, शनिबार

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

blog

कैलाली, भदौ १ गते । धनगढी उपमहानगरपालिकाले ८० जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री सामग्री वितरण गरेको छ । उपमहानगरपालिकाले नगर क्षेत्रलाई पाँच वटा समूहमा विभाजन गरी प्राविधिक परीक्षण पश्चात् आज सहायता सामग्रीको वितरण गरेको हो ।

धनगढी–१, २, ३, ४, ५, ७ र ८ मा बसोबास गर्ने ५५ जना अपाङ्गता भएका व्यक्तिलाई नगर परिसरमा र धनगढी-६, ११ र १३ बेलामा बसोबास गर्ने २५ जनालाई घोर्सुवा स्वास्थ्य चौकीमा सहायता सामग्री वितरण गरिएको उपमहानगर कार्यालयले जनाएको छ । अपाङ्गता भएका व्यक्तिको पहुँच वृद्धि गर्नाका साथै दैनिक क्रियाकलापमा सहजता होस् भन्ने उद्देश्यले उपमहानगरले आर्थिक वर्ष २०७९/८० देखि ‘स्क्रिनिङ क्याप्प’ सञ्चालन गरी सहायता सामग्री वितरण गर्दै आएको उपमहानगरप्रमुख गोपाल हमालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएका हौँ ।” धनगढीमा र बेलामा गरी ८० जनालाई वैशाखी, ह्विलचियर, ट्राइ साइकल, कम्बोट चेयर, हियरिङ एड र लठ्ठीलगायत सहायता सामग्री वितरण गरिएको प्रमुख हमालले बताउनुभयो । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सहायता सामग्री वितरण गर्ने कामलाई अभियानका रूपमा लिएको बताउँदै यसलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । रासस