• ११ मंसिर २०८१, मङ्गलबार

लमही–कोइलाबास सडक : बजार क्षेत्रमा सडक विस्तार गरिने

blog

लमही–कोइलाबास सडक अन्तर्गत लमही बजार क्षेत्रको सडक । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ १ गते  । लमही–कोइलाबास हुलाकी सडक अन्तर्गत लमही बजार क्षेत्रमा सडक विस्तार गरिने भएको छ । लमही–कोइलाबास सडक अन्तर्गत अन्य क्षेत्रमा सडक विस्तार गरिए पनि बजार क्षेत्रमा भौतिक संरचनाका कारण सडक विस्तार हुन सकेको थिएन । 

हुलाकी सडक विस्तार गर्दा स्थानीयले जग्गाको मुआब्जा लिए पनि भौतिक संरचनाको मुआब्जा नपाएको भन्दै विरोध गरेपछि लामो समयदेखि बजार क्षेत्रमा सडक विस्तार हुन सकेको थिएन । अहिले लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने संरचना हटाउन पहल सुरु भएको छ । 

हुलाकी सडक अन्तर्गत लमही नगरपालिका क्षेत्रभित्र पर्ने सडक क्षेत्रको दायाँबायाँ १५/१५ मिटर गरी ३० मिटर खाली गराउन पहल सुरु भएको हो । बजार क्षेत्रमा अधिकांश घर सडक क्षेत्रभित्र पर्ने गरेका छन् । सडक सीमाभित्र भएका संरचना हटाएर सडकलाई फराकिलो बनाउने काम हुने छ । 

बजार क्षेत्रमा सडक विस्तारका लागि सडकभित्र पर्ने संरचना हटाउने काम सुरु भएको लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले बताउनुभयो । सडक विस्तार हुँदा लमहीवासीलाई फाइदा हुने भन्दै नगरप्रमुख चौधरीले भन्नुभयो, “सडक क्षेत्र फराकिलो र बजार सुन्दर बनाउने अभियान सुरु गर्दै छौँ  । ३५ दिने सूचना जारी गरेर संरचना हटाउन आह्वान भएको छ, अब स्थानीयले सडकभित्र पर्ने संरचना हटाउनुहुने छ ।” सडक क्षेत्र खुला भएपछि सडक कालोपत्रे गर्ने, फुटपाथ बनाउने काम अघि बढ्ने छ । 

लमही नगरपालिकामा हुलाकी सडक सीमा केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर गरी जम्मा ३० मिटरभित्र रहेका संरचना अविलम्ब हटाउन ३५ दिने सार्वजनिक सूचना सडक डिभिजन कार्यालय दाङले साउनको २९ गते निकालेको थियो । सडक डिभिजन कार्यालय दाङले सार्वजनिक सूचना निकालेर सडक क्षेत्र खाली गराउने काम अघि बढाएको कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

कार्यालयका सिनियर डिभिजनल इन्जिनियरसमेत रहेका अधिकारीले भन्नुभयो, “सडक डिभिजन कार्यालयले सडक क्षेत्र खाली गराउने विषयमा सार्वजनिक सूचना आह्वान गरेर सडक खाली गराउन अनुरोध गरेको छ । सडक सीमाभित्र पर्ने जग्गाधनीले भौतिक संरचना हटाउनुहुने छ भन्ने अपेक्षा छ ।” बजार क्षेत्रमा करिब दुई किलोमिटर सडक क्षेत्रमा जग्गाको मुआब्जा लिएको ठाउँमा पर्ने संरचना हटाएर सडक विस्तार गर्ने तयारी गरिएको छ । 

लमही–कोइलाबास हुलाकी सडक क्षेत्रमा पर्ने जग्गा अधिग्रहण गर्दा नेपाल सरकारले करिब ४३ करोड ६१ लख ३३ हजार ४१८ रुपियाँ मुआब्जाका लागि जग्गाधनीलाई वितरण गरेको थियो । सडक कालोपत्रे गर्ने क्रममा गढवा बजार क्षेत्रमा भौतिक संरचना हटाएर सडक खाली गराउने काम गरिए पनि लमही बजारमा हुन सकेको थिएन । 

भारत सरकारको करिब ७६ करोड अनुदान सहयोगमा लमही–कोइलाबास ३३.४६ किलोमिटर हुलाकी सडक निर्माण गरिएको थियो । सडक विस्तार गर्दा मुआब्जा वितरणको जिम्मा नेपाल सरकारको थियो । ३६ अर्बभन्दा बढी बजेट मुआब्जा वितरणमा खर्च भएको छ तर लमही नगरपालिका–४, सेम्रहवाका नागरिकले सडकमा परेको जग्गाको मुआब्जा सडक बनिसक्दा पनि पाएका छैनन् । 

मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक क्षेत्र खाली गराउने र मुआब्जा नपाएको विषयमा पनि अध्ययन गर्ने समझदारी भएको छ । आठ वर्षअघिको कुरा रहेछ । के के प्रक्रिया भएका थिए । कहाँ कसरी छुट्न गएको रहेछ, अध्ययन गरेर पहल सुरु हुन्छ ।” हुलाकी सडक कालोपत्रे गर्ने काम सकिएपछि २०७७ साल चैत १८ गते नेपाल सरकारलाई हस्तान्तरण भएको थियो ।