• १३ असोज २०८१, आइतबार

स्याउ टिप्न सुरु

blog

नेत्र शाही 

जुम्ला, भदौ १ गते । जुम्लामा स्याउ पाक्न थालेपछि किसानले टिप्न सुरु गरेका छन् । साउनको अन्तिम हप्तादेखि नै किसानले आफ्नो बगैँचाको स्याउ टिप्न सुरु गरेका हुन् । 

बगैँचामै स्याउ व्यापारीसँग समन्वय गरेर किसानले स्याउ टिप्न सुरु गरेका हुन् । जिल्लाको तिला गाउँपालिकाबाट किसानले स्याउ टिप्न थालेका छन् । तिला गाउँपालिकाको नदी क्षेत्रको स्याउ बगैँचाबाट टिप्न सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयले जनाएको छ ।  

तिला गाउँपालिका–२ का किसान कलिमान रावतले स्याउ टिप्न सुरु भएको जानकारी दिनुभयो । उहाँले आफ्ना साना ठुला गरेर करिब सात सय स्याउको बिरुवा भएकोमा करिब दुई सय बिरुवा स्याउ फलेको जानकारी दिनुभयो । अहिलेसम्म उहाँले करिब एक हजार पाँच सय क्विन्टल स्याउ टिपेको बताउनुभएको छ । 

किसान रामबहादुर रावतले तिला–२ मा रहेको स्याउ बगैँचामा छ सय बिरुवा रहेको जानकारी दिनुभयो । छ सय बिरुवामध्ये १५० स्याउको बिरुवा यस वर्ष फलेको उहाँको भनाइ छ । यस वर्ष आफ्नो बगैँचामा ४० क्विन्टल उत्पादन हुने अनुमान गरिएको किसान रामबहादुरले बताउनुभयो ।   

यस पटकको जुम्लाको स्याउ भने निकै राम्रो भएको किसानले दाबी गरेका छन् । यता सरोकारवाला कार्यालयले भने भदौको पहिलो हप्तामा टिप्न ठिक हुने भए पनि किसानले टिप्न सुरु गरेको बताएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यालय जुम्लाका प्रमुख खेमराज शाहीले किसानले तिला गाउँपालिकामा स्याउ टिप्न सुरु गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार किसानको स्याउ कति गुणस्तर छ भनेर नमुनाका रूपमा जाँच गर्नसमेत थालिएको बताउनुभयो । स्याउ टिप्न सुरु गरेपछि गुणस्तरसमेत जाँच गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जुम्लामा स्याउ कति उत्पादन हुने भन्ने विषयमा एक हप्तामा अनुमान गर्न सकिने बताउनुभयो ।