• १ भदौ २०८१, शनिबार

ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’ कारबाहीमै रमाएको ट्राफिक

blog

काठमाडौँ, भदौ १ गते । सवारीसाधनको गति मापन गर्न ट्राफिक प्रहरी बिहीबार दिउँसो राडार गनसहित बसेको स्थाननजिकै भक्तपुरको गट्ठाघरमा बीभत्स दुर्घटना भयो । कोटेश्वर–भक्तपुर सडकखण्डमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई तीव्र गतिमा पछ्याएको ना ६ ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिई झन्डै एक सय मिटर परसम्म लतारेर लग्यो । 

प्रत्यक्षदर्शीले स्कुटरचालकलाई ट्राफिक प्रहरीले बिच सडकमा नै एक्कासि रोकेर ‘एम्बुस’ मा पारी जाँच गर्न खोज्दा दुर्घटना भएको भन्दै ट्राफिक आइल्यान्डसहित प्रहरीका अन्य संरचना तोडफोड गरे । बिहीबार दिनभर सो सडकखण्ड अवरुद्ध र अशान्त बन्यो तर उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार ट्राफिक प्रहरीले एक्कासि रोकेर नभई गुडिरहेको स्कुटरलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘स्पिड चेकिङ’ गर्न उपत्यका भित्रिने र बाहिरिने नाका र चक्रपथ सडकखण्डका विभिन्न नौ वटा स्थानमा यस्ता राडार गनसहितका ट्राफिक प्रहरी तैनाथ गर्ने गर्छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा तीव्र गतिमा सवारी चलाउने, सडक लेन उल्लङ्घन गर्ने, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चालाउने तथा सवारीचालकसँग सम्बन्धित कागजपत्र नबोक्ने २२ लाख ९१ हजार ८१७ जना सवारीचालकलाई कारबाही गरेको छ । 

विकसित मुलुकले सडकमा ट्राफिक प्रहरीको उपस्थितिबिना नै प्रविधिको माध्यमबाट सवारीचालकको अनुगमन र कारबाहीको विधि अपनाइरहँदा नेपालमा भने परम्परागत शैलीमा नै ट्राफिक कारबाहीलाई तीव्रता दिँदा आमसवारीचालकमा असन्तुष्टि देखिने गरेको छ ।

ट्राफिक कारबाहीबाट मात्र यस वर्ष सवारीचालकबाट एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० रुपियाँ राजस्व सङ्कलन गरिनुले कारबाहीलाई प्राथमिकता दिएको सहजै अनुमान गर्न सकिन्छ । 

प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले भने सवारीचालकलाई सास्ती र दुःख दिने उद्देश्यले नभई सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी सव्रिmय रहेको बताउँदै अन्य मुलुकमा जस्तै नेपालमा पनि प्रविधिको प्रयोगबाट नै सवारी अनुगमन गर्ने प्रविधि भएमा सवारीचालक र स्वयम् ट्राफिक प्रहरीलाई पनि धेरै सहज हुने स्वीकार गर्नुहुन्छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा मात्र देशभर ३५ हजार ४०४ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई हजार ३६९ जनाले ज्यान गुमाएका छन् । त्यसै गरी सडक दुर्घटनामा सोही अवधिमा छ हजार १६० जना गम्भीर तथा २५ हजार ९९६ जना सामान्य घाइते भएका छन् ।