• ३२ साउन २०८१, शुक्रबार

पत्रकार खनालमाथि साङ्घातिक आक्रमण

blog

आक्रमणपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका पत्रकार निकेश खनाल । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, साउन ३२ गते । बर्दीबासस्थित आज्ञा खवर अनलाइनका पत्रकार निकेश खनालमाथि साङ्घातिक आक्रमण भएको छ । 

समाचार संकलनको क्रममा शुक्रबार नगरप्रमुख प्रहलाद क्षेत्रीको निवासमा पुग्नु भएका खनालमाथि बर्दीबास १ का रामकुमार रिसालले आक्रमण गरेको प्रत्यक्षदर्शीले जनाएका छन्  । 

कुटपीटबाट खनालको अनुहार र घाँटी सुन्निएको छ । बायाँ कानले सुन्न नसकेको र दर्द भईरहेको उहाँकी धर्मपत्नी निकिता खनालले बताउनुभयो । घटना लगत्तै आफन्तको सहयोगमा खनाललाई स्थानीय शुभ स्वस्तिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । 

उपचारमा संलग्न डा.उदय दिवाकरकाअनुसार विरामीको अवस्था मध्यम रहेको छ । समय वित्दै जाँदा अवस्था गम्भिर पनि हुन सक्ने उहाँले बताउनुभयो । डा.दिवाकरले भन्नुभयो ‘‘अहिले अनुहारको बाहिरी र कानभित्र चोट देखिएको छ । प्रेसर पनि हाई छ । उहाँलाई अवजरभेसनमा राखेका छौ । ल्याव रिपोर्ट आएपछि मात्र थप जानकारी हुने छ ।’’

घटना विवरणअनुसार नगरप्रमुखको घरमा आएका रिसालले अकस्मात कुटपीट गर्न थालेपछि प्रत्यक्षदर्शीले वचाउ गरेका थिए । पत्रकार खनालमाथि किन आक्रमण गरियो ? स्पष्ट हुन सकेको छैन । पारिवारिक श्रोतका अनुसार केही पहिले रिसालले बर्दीबासकै एक महिला रेडियोकर्मीलाई पाँच हजार जतिरुपियाँ सापट दिएको र सो रकम खनालले फिर्ता नगराइ दिएको कारण कुटपीट भएको हो ।

अस्पतालमा रहनुभएका पीडित खनालले उनीहरुबिचको सापट पैँचोबारे जानकारी नभएको र आफुलाई सोधेर पनि नदिएको बताउनुभयो । ‘‘मलाई किन आक्रमण गरे म आफै चकित छु’’ उहाँले भन्नुभयो । 

यसैबिच महोत्तरीस्थित नेपाल प्रेस युनियन तथा नेपाल पत्रकार महासङ्घ लगायतका संचार सम्वद्ध संस्थाले विज्ञप्ति जारी गर्दै पत्रकार खनालमाथि भएको आक्रमण प्रेस तथा अभिब्यक्ति स्वतंत्रतामाथि गम्भिर हमला भएको उल्ललेख गरेका छन् । 

संचारकर्मीले दोषीमाथि कडा कारवाहीको माग समेत राखेका छन् । प्रहरी उपरीक्षक नकुल पोखरेलले पत्रकार आक्रमणको घटनाबारे बर्दीबास इलाका प्रहरीले छानविन गरिरहेको बताउनुभयो ।