• १ भदौ २०८१, शनिबार

गाजा युद्धविराम वार्ता दोस्रो दिनमा

blog

दोहा, साउन ३२ गते । गाजा युद्धविरामका लागि वार्ता समूहहरू शुक्रबार दोस्रो दिन कतारमा  पुनः जुटेका छन् । इजरायलमा रहेका शीर्ष युरोपेली कूटनीतिज्ञहरूले युद्धविरामका लागि व्यापक दबाब दिने अपेक्षा गरिएको छ ।

इजरायलले सम्झौतामा अवरोध पुर्‍याएको आरोप लगाउँदै यसअघि सहमति भएका शर्तहरूको कार्यान्वयनमा जोड दिँदै आएको हमासबिना बिहीबार कतारको राजधानी दोहामा पुनः युद्धविराम वार्ता भएको थियो ।

हमासशासित गाजाका अधिकारीहरूले १० महिनाभन्दा बढीको युद्धपछि प्यालेस्टिनी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको बिहीबार बताएका छन् । गाजामा लडाकूहरूले बन्धक बनाएका बन्धकहरूलाई फिर्ता ल्याउन महिनौंको वार्ता अझै पनि सही दिशामा जानसकेको छैन ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वार्ताको ‘आशाजनक सुरुवात’ भएको तर अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभएको छ ।

इजरायलको प्रमुख सैन्य आपूर्तिकर्ता संयुक्त राज्य अमेरिकाले कतार र इजिप्टसँग वार्तामा मध्यस्थता गर्दै आएको छ ।

संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले प्रस्तावित गाजा युद्धविरामलाई विशेष गरी इरानसँग बढ्दो क्षेत्रीय तनावलाई कम गर्ने कुञ्जीको रूपमा हेरेका छन् ।

“मध्यपूर्वका लागि यो खतरनाक क्षण हो,” बेलायती विदेशमन्त्री डेभिड ल्यामीले फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नसँगको भ्रमणअघि भन्नुभयो, “स्थिति नियन्त्रणबाहिर जाने खतरा बढ्दै गएको छ ।”

इजरायलका विदेशमन्त्री काट्ज र रणनीतिक मामिलामन्त्री रोन डर्मरसँगको भेटमा उनीहरूले गाजामा युद्धविराम सम्झौतामा सबै पक्षबाट ढिलाइ वा बहाना बनाउने समय नभएकोमा जोड दिने बेलायतको विदेश मन्त्रालयले जनाएको छ । रासस/एएफपी