• ३२ साउन २०८१, शुक्रबार

पहिरोले दुई परिवार विस्थापित

blog

राजकुमार भट्टराई

खोटाङ, साउन ३२ गते । अविरल वर्षाका कारण खोटाङमा पहिरोले दुई परिवार विस्थापित भएका छन् । घरभन्दा तलबाट पहिरो गएपछि केपिलासगढी गाउँपालिका–७ सुंदेलका शारदा राई र बिर्तमान राईको परिवार विस्थापित भएका हुन् ।

घरभन्दा तलबाट पहिरोले तानेर जमिन बग्न थालेपछि शारदाको पाँच जनाको परिवार विस्थापित भएका छन् । हाल शारदा दुई छोरा र दुई छोरीसहित करिब एक घण्टामाथि डेरामा सरेको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिनुभयो । पहिरोले घर बगाउन थालेपछि शारदाको परिवार घरको जस्ता र काठ निकालेर डेरामा सरेका हुन् । श्रीमान् रनकेसर राईले आत्महत्या गरेपछि शारदा छोराछोरी सहित घर सम्हाल्दै आउनुभएको छ ।   

महिला स्वास्थ्य स्वयंसेविका निर्मला राईका अनुसार तीन वर्ष अघिदेखि लच्किन थालेको जमिन यसपल्टको वर्षाले पहिरोको रूपमा बग्न थालेको हो । पहिरोले तान्न थालेपछि बिर्तमानको परिवार गत वर्ष नै विस्थापित भएका थिए । घरमा बस्ने अवस्था नभएपछि भूकम्प पुनर्निर्माण अन्तर्गत बनाइएको घरमा सरेको बताइएको छ । पहिरोले दुःख दिन थालेपछि शारदाले पनि गत हिउँदमा डेरा बनाउनुभएको थियो । 

सुंदेल त्यही ठाउँ हो जहाँ २०५९ साल असार २९ गतेको पहिरोमा ४२ जनाले ज्यान गुमाएका थिए । त्यो बेला दिप्सुङका दुई जनालाई पनि पहिरोले बेपत्ता बनाएको थियो । यस्तै, सडकको भित्ताबाट सुरु भएको पहिरोले ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेमा दुई घर जोखिममा परेको छ । 

वडा कार्यालय–सल्ले सडकको भित्ताबाट सुरु भएको पहिरोले तिलामायाँ राई र विष्णुकुमार राईको घर जोखिममा परेको हो । पहिरोले खेत पनि बगाएको स्थानीय मनिराम अधिकारीले बताउनुभयो । साउन ३० गते परेको अविरल वर्षाका कारण रावा बेसी गाउँपालिका–५ दुबेकोलका खिलाबहादुर थापा मगर र पुष्कर निरौलाको घर पहिरोको जोखिममा परेको छ । निरौलाको गोठ पुरिएको छ । स्थानीय रामबहादुर श्रेष्ठको एक रोपनी खेत बगाएको छ । दुबेकोलमै महिला सामुदायिक भवन पूर्णरुपमा क्षतिग्रस्त बनेको छ। 

यस्तै, पहिरोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले बस्नेत गाउँमा करिब १५ रोपनी खेत बगाएको छ । साउन १६ र १७ गतेको वर्षापछि सुरु भएको पहिरोले कोपिला बस्नेतको धानसहितको खेत बगाएको हो । बगेर झरेको पहिरोले स्थानीय डम्बर केसीको धानसहितको १५ रोपनी खेत पुरेको छ । १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको कोपिला बताउनुहुन्छ । 

कोपिलाको खेतको सिरानदेखि नै पहिरो गएको छ । पहिरोले तीन भागमा दुई भाग खेत बगाएको हो । पानी परेको बेला अहिले पनि खेत बग्ने गरेको छ। पहिरोले कोपिलाको भन्दामाथि रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा खेत बगेको छ । पहिरोको कारण भक्तबहादुरको करिब सय मिटरमाथि रहेको घर समेत जोखिममा परेको छ ।