• ३२ साउन २०८१, शुक्रबार

उद्योग खारेज गर्नेको सङ्ख्या बढ्दै

blog

इमान सिं राना
रामपुर (पाल्पा), साउन ३२ गते । 
पाल्पामा नयाँ उद्योग तथा व्यवसाय दर्ताभन्दा खारेजीको सङ्ख्या बढेको छ । पाँच लाखसम्मको लगानीमा स्थापना भएका फर्म दर्ता स्थानीय तह बाटै हुने भएपछि खारेज गर्नेको सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ९७ वटा उद्योग दर्ता भएकोमा १७७ वटा उद्योग खारेज भएको छ । जसमध्ये उत्पादनमूलक उद्योग आठ वटा दर्ता भएकोमा १५ वटा लगतकट्टा भएको थियो । कृषि तथा वन्यजन्तु उद्योगमा ४४ वटा दर्ता भएकोमा ६२ वटा, पर्यटन उद्योग ३० वटा दर्ता भएकोमा ५५ वटा र सेवा मूलक उद्योगअन्तर्गत १५ वटा उद्योग दर्ता भएकोमा ४५ वटाको लगतकट्टा भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरेले बताउनुभयो ।

गत वर्ष जिल्लामा २१ करोड ९८ लाख पुँजी लगानीमा ९७ वटा उद्योग दर्ता भएका हुन् । जसमा चार वटा साझेदारी र ९३ वटा व्यक्तिगत फर्म रहेको छ । कार्यालयले उद्योग दर्ता बाट १५ लाख ६४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्षको अन्तिम सम्ममा  उत्पादनमूलक ६ सय ५, कृषि तथा  वन्यजन्तु एक हजार तीन सय ६८, पर्यटन ८ सय ११ र सेवासम्बन्धी उद्योग एक हजार ३८ गरी कुल तीन हजार ८ सय १७ उद्योग सञ्चालनमा रहेको घिमिरेले जानकारी दिनुभयो ।

यस्तै, वाणिज्यतर्फ गत वर्ष १८ करोडको लगानीमा ९१ वटा नयाँ फर्म दर्ता भएका छन् भने एक सय ८६ व्यवसायको लगतकट्टा भएको घिमिरेले बताउनुभयो । जसमा फर्म दर्ता बाट २१ लाख ३६ हजार सात सय रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्षको अन्तसम्म दर्ता भएर सञ्चालनमा रहेका फर्महरूको सङ्ख्या चार हजार तीन सय ३३ पुगेको छ । साना लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले पनि घरेलु तथा साना उद्योगमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्नेगरी व्यवसायीले लगतकट्टा गर्दा सो सङ्ख्या वृद्धि भएको कार्यालयले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्यामकुमार पौडेलले साना लगानीको उद्योग स्थानीय तह मै दर्ता गर्न सकिने र दर्ता भएका उद्योग नवीकरण नभएमा बन्द हुने कानुनी प्रावधानले पनि खारेजीको सङ्ख्या धेरै भएको बताउनुभयो । केही उद्योग आर्थिक मन्दीको प्रभावले पनि बन्द भएको हुनसक्ने उहाँले बताउनुभयो । लामो समय नवीकरण नभएका उद्योगलाई ध्यानमा राखेर सरकारले २०८१ चैत मसान्तसम्म नवीकरण गर्दा जरिवानामा ९५ प्रतिशत छुट दिने व्यवस्था रहेकाले मौकाको फाइदा उठाउन उद्योग अधिकृत पौडेलले आग्रह गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपाङ्ग नागरिकलाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको उद्योग अधिकृत पौडेलले जानकारी दिनुभयो ।

कार्यालयमा उद्योग तथा वाणिज्य फर्म दर्ताको सङ्ख्या निरन्तर घट्दो क्रममा रहेको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा उद्योग २१३ दर्ता भएकोमा १४३ वटा खारेज र वाणिज्य फर्म १८४ दर्ता भएकोमा १ सय ९७ खारेज भएको थियो ।  आर्थिक वर्ष २०७८/०७९ मा उद्योग ५२१ दर्ता भएकोमा १८८ र वाणिज्य फर्म ३७१ वटा दर्ता भएकोमा २३९ खारेज भएको थियो ।