• ३२ साउन २०८१, शुक्रबार

‘आनन्द संहिता’ लोकार्पित

blog

‘आनन्द संहिता’ पुस्तक बिमोचन गरिदै । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, साउन ३२ गते । लेखक तथा पत्रकार घनश्याम खड्काको गैर आख्यान कृति ‘आनन्द संहिता’ लोकार्पित भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा एक समारोहबिच कृतिको लोकार्पण गरिएको हो ।

बुद्ध दर्शन र आनन्द प्राप्तिको मार्ग देखाउने उद्देश्यले लेखिएको पुस्तकलाई बौद्ध धर्म गुरु श्याल्पा तेजिङ रिन्पोंछेले विमोचन गर्नुभयो । 

लेखक घनश्याम खड्काले विश्वले मानेको बुद्धको जन्मस्थलमा आएर पुस्तक विमोचन गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले बुद्ध भनेको व्यक्ति नभई चरित्र भएको बताउँदै बुद्धले भनेजस्तै दुःखबाट मुक्ति पाउने भनेको आनन्द प्राप्ति भएको लागेकाले पुस्तकमा सोही कुरा समेटिएको बताउनुभयो ।

कार्यक्रममा श्याल्पा तेजिङ रिन्पोंछेले गौतमबुद्धको शिक्षाले मानिसलाई दुःखबाट मुक्तिका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै लेखक खड्काले आनन्द संहिता मार्फत त्यही सन्देश दिएको बताउनुभयो । पुस्तकले आनन्द प्राप्तिको खोजीमा रहेका पाठकलाई मार्गदर्शन गर्ने बताउनुभयो । 

विमोचनमा प्रतिनिधि सभा सदस्य सन्तोष परियारले गैर आख्यान पुस्तकले मान्छेको जीवनको आनन्दलाई भित्रैबाट बाहिर निकाल्ने काम गरेको बताउनुभयो । उहाँले पत्रकारितामार्फत पिँधमा पारिएकाको कथा लेखिरहेको पत्रकारले मान्छेको जीवनका विभिन्न पाटालाई बुद्धमार्गसँग जोड्दै आनन्द प्राप्तिबारे आम पाठकलाई सरल रूपमा बुझाउने प्रयत्न गरेको बताउनुभयो । 

विमोचन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल, शङ्कर भण्डारीले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जीवनमा आनन्द प्राप्तिको विषयलाई सरल रूपमा पाठकलाई बुझाउने काम गरेको बताउनुभयो ।

पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सले प्रकाशन गरेको हो । मानिसले जीवनमा सबै काम आनन्द पाइएला कि भनेर गरे पनि अन्ततः दुःखले अत्त्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ । 

अल्केमी पब्लिकेशन्सका विमल खड्काले ‘आनन्द संहिता’ को प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमांसासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत उल्लेख गरिएकाले पुस्तक उपयोगी रहेको बताउनुभयो । 

पुस्तकले आनन्द प्राप्तिको विभिन्न विधि र दृष्टिकोणलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै जीवनका साना ठुला सबै व्यवधानबाट सजिलै गरी पार पाउने बाटा बारेमा पनि सुझबुझपूर्ण वर्णन छ । लेखक खड्काले यसअघि ‘निर्वाण’ उपन्यास प्रकाशन गर्नुभएको थियो ।