• ३२ साउन २०८१, शुक्रबार

एकातिर योजना, अर्कातिर बजेट

blog

उर्लाबारी समाचारदाता 

उर्लाबारी, साउन ३२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका आधारका रूपमा रहेको आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेट मिल्न नसकेको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले आवधिक योजना एकातिर, नीति तथा कार्यक्रम र बजेट अर्कोतिर भइरहेकाले अबको दिनमा यस्तो हुन नदिने पनि उल्लेख गर्नुभयो । कोशी प्रदेश योजना आयोगको पञ्चवर्षीय आवधिक योजना सार्वजनिक गर्दै बिहीबार विराटनगरमा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । 

सरकारको एक सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको आवधिक योजनालाई अबको केही दिनमा नै कर्मचारी, सांसद् सबैको हात हातमा पु-याउन निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले कर्मचारी र सासंद्हरूले राम्रोसँग अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । आवधिक योजनासँग नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलाउनका लागि सबैले अध्ययन गरेर सोही अनुसारको योजना मात्र अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । 

आर्थिक वर्ष २०८५/८६ सम्ममा कोशी प्रदेशको आर्थिक वृद्धिदर ७.५५ प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । कोशी प्रदेश सरकारको आव २०७९/८० मा २.३८ प्रतिशत आर्थिक वृद्धिदर थियो भने आव २०८०/८१ मा ३.५१ प्रतिशत रहेको थियो ।

प्रदेश योजना आयोगले बिहीबार सार्वजनिक गरेको दोस्रो आवधिक योजना अनुसार आव २०८५/८६ मा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार ६४५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा एक हजार २९९ अमेरिकी डलर थियो भने आव २०८०/८१ मा एक हजार ३३६ अमेरिकी डलर थियो ।  

त्यसै गरी आव २०८५/८६ सम्ममा गरिबीको रेखामुनि रहेको जनङ्ख्या १२ प्रतिशतमा झार्ने लक्ष्य छ । आव २०७९/८० मा कोशी प्रदेशमा १७.५० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेका थिए भने गएको आवमा यसमा ०.३० प्रतिशत घटेर १७.२० प्रतिशत पुगेको छ । यस्तै सोही अवधिमा बेरोजगारी दर ५.४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । अहिले १० प्रतिशत बेरोजगारी रहेको उल्लेख गरिएको छ । 

आव २०८५/८६ मा कोशी प्रदेशका जनताको अपेक्षित आयु ७२ वर्षको अनुमान गरिएको छ । मातृमृत्यु दर (प्रतिलाख जीवित जन्ममा) ७० झार्ने अनुमान गरिएको छ । त्यस्तै पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) २० मा झार्ने अनुमान गरिएको छ । त्यसै गरी आव २०८५/८६ सम्ममा साक्षरता दर ९० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ भने श्रमशक्ति सहभागिता दर ६० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ । सो अवधिमा विद्युत् उत्पादन दुई हजार २०० मेगावाट पु-याउने अनुमान गरिएको छ ।

कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी पञ्चवर्षीय आवधिक योजनाको मुख्य मुख्य आयोजना प्रस्तुत गर्दै दोस्रो आवधिक योजनाको सोच ‘सुशासित, खुसी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश’ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार आवधिक योजनाको मुख्य उद्देश्य कृषि, उद्योग र सेवा क्षेत्रमा लगानीको वातावरण तयार गरी प्रविधिमैत्री उत्पादन तथा उत्पादकत्व वृद्धिमार्फत सम्पन्न नागरिक र समुन्नत प्रदेश निर्माण गर्ने रहेको छ ।