• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीयका माग पूरा गरिने

blog

रुपन्देही समाचारदाता

रुपन्देही, साउन ३२ गते  । लुम्बिनी वरपरका बासिन्दाले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफ्नो नजिकै भए पनि स्थानीयले यसबाट कुनै फाइदा उठाउन नसकेको गुनासो गर्दै आएका छन् । उनीहरूको गुनासो सम्बोधन गर्न लुम्बिनी विकास कोषले प्रयासको थालनी गर्ने जनाएको छ । 

स्थानीय बासिन्दाले उठाएका सकारात्मक मागबारे विकास कोषले १४ वटा बुँदामा कार्यसम्पादन तालिका बनाएर सम्बोधन गर्ने भएको छ । यहाँका स्थानीयले लुम्बिनी जस्तो पवित्र स्थान भएर पनि आफूहरूको जनजीवन तथा आर्थिक आयआर्जनमा कुनै सुधार नआएको भन्दै विकास कोषसँग गुनासो राख्दै आएका थिए । 

कोषका कार्यवाहक उपाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को अध्यक्षतामा ‘लुम्बिनी बचाऔँ’ महाअभियान र लुम्बिनी होटेल सङ्घ नेपालसहित सरोकारवालासँग छुट्टाछुट्टै छलफल गरी स्थानीयको माग सम्बोधन गरिने भएको हो ।कोभिड–१९ पछि बन्द रहेको लुम्बिनी सङ्ग्रहालय असोज १ गतेबाट सबैका लागि खुला राख्ने, मायादेवी मन्दिरको स्वरूप परिवर्तन तथा पुनर्संरचना गर्न नपाइने, स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत संरक्षण शुल्कको १० प्रतिशत स्थानीय पालिकासँग सहकार्य र साझेदारी गर्न संयुक्त कार्यविधि बनाउने, मोनास्ट्री र होटेल व्यवसायी तथा अन्य सरोकारवाला संलग्न रहेको कार्यविधि निर्माण गर्ने जनाइएको छ ।  सो कार्यका लागि एक कार्यदल बनाउने, मायादेवी मन्दिर प्रवेश शुल्कबारे सर्वोच्च अदालतको निर्णय कार्यान्वयन गर्नेलगायतका विषयमा छलफल भएको जनाइएको  छ । यसै गरी कतिपय नीतिगत सुधारका पक्षमा कोषको परिषद् बैठकमा प्रस्ताव लैजाने सहमति गरिएको छ । स्थानीय लुम्बिनी बचाऔँ महाभियान र होटल एसोसिएसन लुम्बिनीले विभिन्न माग राखेर विकास कोषमा धर्ना र तालाबन्दीलगायतका आन्दोलन गर्दै आएका थिए । 

कोषले कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा सरोकारवाला र लुम्बिनी सांस्कृतिक नगरपालिकाका पदाधिकारीसमेत रहेको कार्यदल बनाएको थियो  । उक्त कार्यदलले दिएको १२ बुँदे सुझाव तत्काल कार्यान्वयन गर्न सकिने विषय कोषलाई सिफारिस गरेको छ । यसै गरी होटल व्यवसायी सङ्घ र लुम्बिनीस्थित बौद्ध विहारले गेस्टहाउस चलाएको भन्ने विषयमा विवाद उत्पन्न भएकोमा एक संयुक्त अध्ययन कार्यदलले प्रतिवेदन दिएको थियो । बुधबार बसेको कोष र होटल व्यवसायीबिचको बैठकले विहार गुम्बा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउने समझदारी गरेको छ । 

कोषका सूचना तथा जनसम्पर्क प्रमख डा. हरिध्वज राईको संयोजकत्वमा होटेल सङ्घ, लुम्बिनी गुरुयोजनाभित्रका विहार गुम्बाको समिति, लुम्बिनी बुद्ध धर्म संरक्षण समिति, जिल्ला प्रशासन कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रतिनिधि रहने गरी नौ सदस्यीय कार्यदल बनाएको छ ।

होटेल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवालीले कार्यसम्पादन तालिका र सहमतिका बुँदालाई कोषले इमानदारीपूर्वक कार्यान्वयन गरेमा सबै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।