• ११ मंसिर २०८१, मङ्गलबार

बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण

blog

ढोरपाटन  (बागलुङ),  साउन ३२ गते ।  तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले गत आर्थिक वर्षमा रु ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकारी दिनुभयो । 

चारवर्षअघि  २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्ने गरी निर्माण कम्पनी कान्तिपथ कन्स्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताउनुभयो । “ढिलो भए पनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई रु ६० लाख भुक्तानी गर्न बाँकी  छ,” विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उहाँले भन्नुभयो । रासस