• १६ भदौ २०८१, आइतबार

पहिरोले पानीको हाहाकार

blog

खानेपानीको पाइपमा क्षति पुग्ने गरी ओखरबासमा गएको पहिरो । तस्बिर : कमल शर्मा

दैलेख समाचारदाता

दैलेख, साउन ३२ गते । पहिरोले पाइप चुँडाइदिएपछि दैलेख बजारमा खानेपानीको हाहाकार भएको छ । नारायण नगरपालिका–१०, ओखरबासमा गएको पहिरोले खानेपानीको पाइप चुँडाइदिएको छ । महाबु धार्मिक मेलामा जाने यात्रुको सुविधाका लागि सडक मर्मत गर्न लाग्दा ओखरबासमा लगातार पहिरो खसेका कारण जिआइ पाइप चुँडिएको हो । सहारे मुहानबाट ल्याइएको खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।

नारायण नगरपालिका–६ का विष्णु अधिकारीले खानेपानी नआएको करिब दुई हप्ता हुन लागेको बताउनुभयो । बजारका अधिकांशले टाढाबाट खानेपानी बोक्ने गरेका छन् । करिब १५ दिनअघि नेपाली सेना, नारायण नगरपालिका खानेपानी कार्यालयलगायतको अथक प्रयासले केही समयअघि सो खानेपानी नियमित सञ्चालन गरिएको थियो । सडक मर्मत गर्दा पहिरोले खानेपानीको लाइन चुँडाइदिएको र त्यसका लागि सडक मर्मत सकिनसाथ पाइपको जडान कार्य थालिने बताइएको छ । 

जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका र महाबु गाउँपालिकाको आग्रहमा सडक विभाग सुर्खेतले सदरमुकामदेखि महाबुधामसम्म सडक मर्मत गर्न थालेको थियो । करिब ४२ किलोमिटरमध्ये करिब ३० किलोमिटर दुरीमा रहेको ओखरबास पहिरोले सडक सम्पर्क र खानेपानी आपूर्तिमा अवरोध आएको छ । ओखरबासको पहिरोले खानेपानी आपूर्ति रोकिएपछि १० हजारभन्दा बढी उपभोक्ता स्थानीय गाउँका मुहानमा पानी भर्न भिड लाग्ने गरेको छ । २०३२ सालमा १८ किलोमिटर दुरीको कालेखोलाको मुहानबाट सो पानी ल्याएको हो । पानी अपूरो हुँदा २०६६ सालमा ३५ किलोमिटर टाढाको सहारे मूलखोलाबाट पानी ल्याएपछि सदरमुकाममा खानेपानी पर्याप्त भएको थियो ।

सदरमुकाममा एकमहिने बर्खे मेला चलिरहेको, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन हेर्न आउने र मध्यपहाडी राजमार्गमा यात्रा सहज भएकाले पर्यटक बढेको समयमा पानीको खपत पनि बढेको हो । 

नारायण नगरपालिका खानेपानी समितिका प्रमुख इन्जिनियर राजन खड्काले छिटोछरितो खानेपानी आपूर्तिको प्रयास भइरहेको तर प्राकृतिक समस्याले सबै प्रयास असफल भएको जानकारी दिनुभयो । 

उहाँले धेरै प्रयासपछि कालेखोला मुहानको पानी आपूर्ति भएकाले सदरमुकामको गहिरो भागतिर चाहिँ केही सानो मात्रामा पानी पठाउने प्रयत्न भइरहेको बताउनुभयो । कालेखोलाबाट प्रतिसेकेन्ड चार लिटर र सहारेको प्रतिसेकेन्ड २० लिटर क्षमताको पानी नै सदरमुकामको खानेपानीको स्रोत हो ।