• ३२ साउन २०८१, शुक्रबार

युक्रेनलाई ५१ डलर चन्दा दिँदा १२ वर्षको जेल सजाय

blog

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवाना

येकातेरिनबर्ग (रुस), साउन ३१ गते । 

अमेरिका र रुसको दोहोरो नागरिकता भएकी केन्सिया खवानालाई बिहीबार एक रुसी अदालतमा देशद्रोहको आरोपमा दोषी ठहर गरिएको छ । युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ डलर चन्दा दिएको आरोपमा उनलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । 

रुसी अधिकारीहरूले केन्सिया क्यारेलिना नामले चिनिने खवानालाई फेब्रअरीमा येकातेरिनबर्गको युराल पर्वतीय सहरमा पक्राउ गरेको र गत साता बन्द परीक्षणमा दोषी ठहर गरिएको बताइएको छ । 

पूर्व ब्याले डान्सर ३३ वर्षीय खवानाले कथित रूपमा एक अमेरिकीसँग विवाह गरेर लस एन्जलस गएपछि अमेरिकी नागरिकता प्राप्त गरेकी थिइन् । उनी आफ्ना परिवारसँग भेट्न रुस आएकी थिइन् । 

रुसको सङ्घीय सुरक्षा सेवाले भनको छ, “उनले युक्रेनी सङ्गठनको हितमा सक्रियरूपमा पैसा सङ्कलन गरिन्, जुन पछि युक्रेनी सशस्त्र बलका लागि रणनीतिक चिकित्सा आपूर्ति, उपकरण, हतियार र गोलाबारुद किन्न प्रयोग गरियो ।”

अधिकार समूह द फर्स्ट डिपार्टमेन्टले उक्त आरोप अमेरिकी परोपकारी संस्थाका लागि दिइएको ५१ डलर चन्दासँग सम्बन्धित भएको बताएको छ । मुद्दाको परीक्षण मस्कोबाट करिब एक हजार चार सय १६ किलोमिटर पूर्व येकातेरिनबर्गमा भएको थियो । 

खवानाले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएको उनका वकिल मिखाइल मुसाइलोभले बताउनुभयो । “खवानाले चन्दा दिएको कुरालाई आंशिक रूपमा स्वीकार गरेकी छन् तर चन्दा प्राप्त हुने अधिक सम्भावना भएका सङ्गठनहरूलाई चन्दा दिने आफ्नो मनसायलाई स्वीकार गरिनन्”, मुसाइलोभले भन्नुभयो, “आफूले दिएको चन्दाको प्रयोग रुसीविरोधी कार्यका लागि गरिनेछ भन्ने उनले सोचेकी थिइनन् ।”

सन् २०२२ मा युक्रेनमा सेना पठाएपछि रुसले असहमतिमाथि कडा कारबाही गर्दै युक्रेनमा अपरेसनको आलोचना र रुसी सेनाको बदनाम गर्ने टिप्पणीहरूलाई अपराधीकरण गर्ने कानून पारित गरेको छ । त्यसयता रुसले अमेरिकी नागरिकहरूलाई पक्राउ गर्न निशाना बनाएको भन्दै चिन्ता बढेको छ । रासस, एपी