• ३२ साउन २०८१, शुक्रबार

रुसी सैन्य हवाई अखडामा युक्रेनी आक्रमण

blog

मस्को (किएभ), साउन ३१ गते । पछिल्लो समय युक्रेनले रुसको कुस्र्क क्षेत्रमा  आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठुलो र लामो दूरीको ड्रोन आक्रमण गरी चार रुसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनी जनरल स्टाफले  टेलिग्राममार्फत सार्वजनिक गरेको विज्ञप्तिअनुसार रुसको भोरोनेज, कुस्र्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्नु रहेको उल्लेख छ ।

कुस्र्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराउनुभएको छ ।

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रुसको कुस्र्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताउनुभएको छ ।

यसैबिच, मस्कोबाट प्राप्त समाचारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुस्र्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रूपमा वर्णन गर्दै  युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाउनुभएको छ ।

रुसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुस्र्क क्षेत्रमा छ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रुसले कुस्र्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका  ११७ ड्रोन र चार सामरिक महत्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । साथै मन्त्रालयले युक्रेनले कुस्र्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्याङ्कहरू गुमाएको जनाएको छ ।

युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रुसको नेसनल गार्डले कुस्र्कको आणविक ऊर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ । रासस/सिन्ह्वा