• १६ भदौ २०८१, आइतबार

भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु

blog

भेरी अस्पताल ।

सिराज खान 

नेपालगन्ज, साउन ३१ गते । नेपालगन्जस्थित भेरी अस्पतालले बिरामीका लागि सेवा सुविधा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आँखाको सर्जिकल सेवा सुरू गरेको छ ।

सो अस्पतालमा तीन वर्षअघि एउटा कोठाबाट ओपिडी सेवा सुरू गरेको अस्पतालको आँखा विभागले हाल आएर सर्जिकल सेवा पनि सुरु गरेको हो ।

यो सेवा सुरु गरिएपछि अब आँखाका बिरामीहरुले यहीँबाट न्यूनतम शुल्कमा राम्रो सहज र सर्वसुलभ उपचार सेवा पाउने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो। 

उहाँले भेरी अस्पतालबाटै सबै प्रकारका उपचार सेवा उपलब्ध गराउने उद्देश्यका साथ आँखाको सर्जिकल सेवा पनि सुरु गरिएको जनाउँदै आगामी दिनमा यो सेवालाई थप प्रभावकारी बनाउँदै नयाँ नयाँ प्रविधिबाट आँखाको उपचार गरिने बताउनुभयो । 

सो सेवा सञ्चालनका लागि यसअघिका अस्पताल प्रमुखहरु डा. बद्री चापागाईं र डा. पवनजंग रायमाझीले पनि आ आफ्नो स्तरबाट निकै प्रयास गर्नु भएको अस्पताल प्रमुख डा. थापाले स्मरण गराउनुभयो । 

भेरी अस्पतालमा आँखाको सर्जिकल सेवा सुरु गरिएपछि अब गरिब, विपन्न र न्युन आय भएका सर्वसाधारणले पनि सहज रुपमा आँखाको शल्यक्रियासहितको उपचार सेवा पाउने भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो । उहाँले भेरी अस्पतालका सेवा सुविधाहरुलाई जनताका लागि सहज, सरल र प्रभावकारी बनाउने अभियान सुरु गरिसकिएको जनाउँदै सोही क्रममा सेवा सुविधा थप्ने काम पनि भइरहेको बताउनुभयो ।  

अस्पतालमा सुधार ल्याउन पछिल्लो समय अस्पतालले सर्वसाधारणसँग राय सुझाव लिने काम पनि सुरु गरेको अस्पताल विकास समितिका सदस्य डा. धितालले बताउनुभयो । 

उहाँका अनुसार सुधार अभियानलाई अगाडि बढाउँदै अस्पतालले हालसम्म दिँदै आएको सेवाहरुमा लाग्ने शुल्कहरु घटाएको छ भने अनलाइन टिकटको व्यवस्था, जेष्ठ नागरिकलाई लाइन लाग्नुनपर्ने व्यवस्था, अस्पतालका चिकित्सकले लेखेको औषधी भित्रै फार्मेसीमा पाइने व्यवस्था, नयाँ भवनबाट सेवा प्रदान गर्ने व्यवस्थालगायतका सुधारका कामहरु गरिसकेको छ ।