• १६ भदौ २०८१, आइतबार

सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व सङ्कलन

blog

रमेश विश्वकर्मा 

गुल्मी, साउन ३० गते । गुल्मीमा सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्ष २०८०-०८१ मा यस जिल्लामा बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका आठ हजार २६७ सवारीसाधन कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

ट्राफिक नियम उलङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउने, मापसे गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार ट्रक-८४८, बस-५०८, जिप/कार-तीन हजार ७०३, ट्याक्टर-३८३, मोटरसाईकल-दुई हजार ८२१ कारबाहीमा परेका हुन् । यस जिल्लामा आर्थिक वर्ष २०७८-०७९ मा नौ हजार ६६४ सवारी साधन कारबाहीबाट ५७ लाख ५७ हजार ५०० रुपियाँ र आर्थिक वर्ष २०७९-०८० मा दश हजार ९७ सवारी साधन कारबाहीबाट ६३ लाख १४ हजार राजस्व सङ्कलन भएको छ । 

त्यस्तै, सवारी दुर्घटनाबाट आर्थिक वर्ष २०७८-०७९ मा १७ जना, आर्थिक वर्ष २०७९÷०८० मा १० जना र गत आर्थिक वर्ष २०८०÷०८१ मा नौ जनाको मृत्यु भएको छ । विभिन्न समयमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना चालक तथा सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षणका साथै सवारी चेक जाँचलाई कडाइ गरिएको थियो । 

यस जिल्लामा ४४३ पटक १४ हजार ९३ जनालाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि विभिन्न प्रशिक्षण कार्यक्रमहरु गरिएको थियो । विभिन्न समयमा चालकको स्वास्थ्य परीक्षण गर्नुका साथै विद्यालय कार्यक्रमलाई पनि तीव्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।