• ११ मंसिर २०८१, मङ्गलबार

कञ्चनजङ्घा पदमार्ग अवरुद्ध

blog

पहिरोले क्षति गरेको लामाटारस्थित घुन्सा खोलाको झोलुङ्गे पुल ।

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, साउन ३१ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सा खोलामा रहेको झोलुङ्गे पुलमा पहिरोले क्षति पु¥याउँदा कञ्चनजङ्घा पदमार्ग अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको घुन्सा खोलास्थित लामाटारमा रहेको झोलुङ्गे पुल माथिदेखि झरेको पहिरोले पूर्ण रूपमा क्षति गर्दा पदमार्ग अवरुद्ध भएको हो ।

लेलेपका वडाध्यक्ष पेम्बाटासी शेर्पाका अनुसार अविरल वर्षासँगै मङ्गलबार राति करिब २:३० बजेतिर माथिदेखि झरेको पहिरोले झोलुङ्गे पुललाई पूर्ण रूपमा क्षति गरेको हो । एकातर्फ जिपसहित पहिरोले झोलुङ्गे पुल बगाएको छ ।  पुल नभएपछि कञ्चनजङ्घा पदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

पदमार्ग अवरुद्ध भएपछि कञ्चनजङ्घा आधार शिविर भ्रमणमा जाने पर्यटक प्रभावित भएका छन् । यस्तै लेलेपको ग्याब्ला, फले र घुन्साको बासिन्दाबिच गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक तथा सदरमुकाम फुङ्लिङसँग आउजाउको मार्ग टुटेको छ । घुन्सा खोलामा वैकल्पिक पुलको व्यवस्था नभएसम्म आउजाउ अवरुद्ध बनेको फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्य मिङ्माडन्डु शेर्पाले जानकारी दिनुभयो । यस्तै सोही पहिरोले झोलुङ्गे पुलको जिपनजिक रहेको छिरिङ थाक्चे शेर्पाको ढुङ्गा, माटो र जस्तापाताले बनेको घर पनि पूर्ण रूपमा क्षति भएको छ । किराना पसलसमेत रहेको शेर्पाको घर पहिरोले क्षति पु¥याउँदा २६ लाख रुपियाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

लुङ्थुङ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सङ्कलन गरेको विवरण अनुसार १८ लाख मूल्य बराबरको घर र आठ लाख रुपियाँ मूल्य बराबरको पसलको सामान नष्ट भएको छ । पहिरोले मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।