• १० मंसिर २०८१, सोमबार

कृषिको बजार खोज्नु पर्दैन

blog

मुस्ताङको घरपझोङ गाउँपालिकामा जिल्ला सदरमुकाम जोमसोम बजारसहितका स्थान पर्छन् । जिल्लामा साबिक मार्फा गाविस, टुकुचे गाविसका वडा नम्बर ८ र ९ र जोमसोम गाउँ विकास समितिलाई समेटेर घरपझोङ गाउँपालिका बनाइएको हो । पाँच वडा रहेको यो पालिकाको जनसङ्ख्या तीन हजार १८४ छ । घरपझोङको पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी छन् । सडक सञ्जाल पुगेपछि पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको यो क्षेत्रको मुख्य सम्भावना पर्यटन र कृषि नै हो । गएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिई पालिका अध्यक्ष निर्वाचित हुनुभएका मोहनसिंह लालचनसँग घरपझोङका गतिविधि र भावी योजनाबारे लेखनाथ समाचारदाता फडिन्द्र अधिकारीले टेलिफोनमार्फत गर्नुभएको कुराकानी :

आधा कार्यकाल कस्तो रह्यो ? 

करिब तीन दशक जापान बसेर गाउँमा केही गरौँ भन्ने अभिलाषाले यहाँ आइपुगेको हुँ । जापान बस्दा देखेको विकास, कार्यप्रणाली, जनजीवन र सम्भावनाको अनुभवलाई जन्मभूमिमा लागु गरौँ भन्ने उत्कण्ठाले जनप्रतिनिधि बने । जोमसोम मुस्ताङको मिनी ठमेल जसरी विकास हुँदै छ । दसैँतिहारका बेला यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन । सपना साकार हुँदै गएको छ भन्ने लागेको छ । यसर्थ मेरो कार्यकालको आधा समय समग्रमा ठिकै छ । 

भौगोलिक रूपमा अझै दुर्गम नै मानिँदा समस्या छन् । यहाँ अझै पनि कर्मचारी आउन मन्दैनन् । यहाँ दुई स्वास्थ्य चौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र छन् । हाम्रै पालिकामा रहेको जिल्ला अस्पतालमा पनि दक्ष जनशक्तिको सधैँ अभाव हुन्छ । शिक्षाका लागि दुई निजी र आठ सरकारी विद्यालय छन् । ११ कक्षामा विज्ञान पढ्न बजार झर्नु पर्छ । स्वास्थ्यमा गम्भीर समस्या आए यहाँ उपचार सम्भव छैन । 

जोमसोमको फोहोर र पार्किङ व्यवस्थापन कसरी गर्नुभएको छ ? 

जोमसोम सडकमा जोडिएपछि र कोरला नाकासम्म बाटो पुगेपछि यहाँको भिडभाड बढ्दै गएको छ । हामीकहाँ अहिले दुई बसपार्क छन् । दुवै बसपार्क सञ्चालनमा छन् । बजारमै गाडी रोक्ने, त्यही बस्ने, थोरै हिँड्न पनि अल्छी गर्ने गर्दा समस्या भएको हो । पार्किङ हाम्रा लागि समस्या होइन । दसैँतिहारका बेला, कागबेनीमा तर्पण दिन आउने बेला चाहिँ यसले धान्दैन । सँगसँगै फोहोर पनि बढेको छ । वडा वडामा फोहोर सङ्कलन केन्द्र बनाएका छौँ । फोहोर वर्गीकरण गरेका छौँ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को सहयोगमा प्लास्टिकजन्य फोहोर भने पोखरा लैजाने तयारी भएको छ ।

‘घरपझोङको समृद्धि : कृषि, पर्यटन र संस्कृति’ भन्ने नारा साकार भएको हो ?

हामी ‘घरपझोङको समृद्धि : कृषि, पर्यटन र संस्कृति’ भन्ने उद्घोष साकार पार्दै छौँ । कृषि र पर्यटन नै हाम्रा मुख्य स्रोत हुन् । निरन्तर गुणस्तरीय काम गरे पर्यटक बढाउन सकिन्छ । प्रचारप्रसार, पर्यटनका लागि आवश्यक पूर्वाधार र सडक स्तरोन्नति भए पर्यटक आगमन अझै बढ्छ । गत वर्ष हामीले पर्यटन महोत्सव ग¥यौँ । मुस्ताङ वर्षमा तीन पटक हेरेपछि बल्ल चिनिन्छ । हिउँदमा हिउँ पर्छ, यहाँको सौन्दर्य पृथक् हुन्छ । वैशाखदेखि साउनसम्म फूल फुल्ने याम हो । यो बेला मुस्ताङ फूलबारी जस्तो देखिन्छ । न जाडो न गर्मी हुने दसैँतिहार बेला त मुख्य मौसम नै भइहाल्यो । मुस्ताङ यी तीनै मौसममा घुमेपछि बल्ल यसलाई राम्ररी चिनिन्छ । 

आन्तरिक आम्दानी बढाउन उपाय खोज्नुभएको छ ? 

म आउँदा यहाँको आम्दानी ६० लाख जति थियो । अहिले एक करोड कटेको छ । हामीकहाँ एक्याप पनि छ । जङ्गल भने छैन तर स्याउका फार्म भएकाले ती फार्मबाट थोरै राजस्व उठ्ने हो । गिट्टी, बालुवा निकाल्न नपाउने भएकाले आम्दानीको ठुलो स्रोत हुने भएन । हिउँदमा सुक्ने, बर्खामा उर्लेर आउने खोला छन् । केही माइक्रो हाइड्रो बनाउन सक्ने सम्भावनाको खोजी गरेका छौँ । यो वर्ष एक करोड १७ लाख आम्दानी गर्ने लक्ष्य छ । बस्तीभन्दा माथि बगर भइसकेका छ । कालगण्डकीमाथि वर्षमै एक, दुई फिट नदीको सतह बढ्ने हुँदा छेउछाउका बासिन्दा त्रासमा छन् । मुख्यमन्त्रीले यसबारे बुझ्नुभएको छ । सङ्घका मन्त्रीलाई पनि सुनाएका छौँ । समस्याको समाधान निस्किएको छैन । हामी आशावादी छौँ । 

प्रदेश र सङ्घ सरकारसँगको सम्बन्ध कस्तो रह्यो ? 

मलाई त हामीसँग बढी जोडिने प्रदेश नै हो भन्ने लाग्यो । सङ्घ अलि नदेखिने, टाढा छ हाम्रा लागि । तुरुन्त भेट्न पाउने, कुरा राख्न पाउने, योजना माग्न पाउने प्रदेश नै हो । हाम्रो अपेक्षा, माग, योजनाबारे केही मात्रामा सुनुवाइ प्रदेशबाट भएको छ, सङ्घबाट भएन । दुरी र कामका हिसाबले प्रदेशसँगको सहकार्यबाट नै काम गर्दै आएका छौँ । 

बाँकी कार्यकालमा के गर्ने योजना छ ? 

हामीकहाँ पर्यटक बढाए कृषिको बजार खोज्नु पर्दैन । गत वर्ष यति धेरै पर्यटक आए कि आन्तरिक उत्पादन कोसेली लैजान नै नपुग्ने अवस्था भयो । यहाँ एक, दुई प्रतिशत जग्गाको मात्र लालपुर्जा छ । सचिव छैनन्, प्राविधिक पनि आउँदैनन् । सबैभन्दा जटिल कुरा यही छ । अनुभवी र दक्ष कर्मचारीबिना कसरी काम गर्न सकिन्छ ? मैले अध्यक्षका रूपमा पाउने भत्ता र सुविधा व्यक्तिगत रूपमा प्रयोग गरेको छैन । बत्ती, होर्डिङ बोर्डमा खर्च भएको छ । दलित र विपन्नको स्वास्थ्य बिमा गरेका छौँ । सबैतिर सिसी क्यामरा राखेका छौँ । बाँकी कार्यकाल समृद्धिको योजनाबद्ध खाका बनाउँदै कार्यान्वयनतर्फ लाग्छौँ ।