• ३० साउन २०८१, बुधबार

दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ३० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवम् समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । उहाँको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहनुभएको छ । 

यस्तै, राज्यका निर्देशक सिद्धान्त समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवम् समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीपेन्द्रप्रसाद बडू रहनुभएको छ । समितिका सभापतिको निर्वाचनका लागि यही साउन ३१ गते बिहीबारको मिति निर्धारण भएअनुसार उहाँहरूको आज उम्मेदवारी दर्ता भएको हो ।

भोलि साउन ३१ गते बिहीबार ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्माणार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ । प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो । यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति यही साउन १६ गते गठन भएको हो । रासस