• ३० साउन २०८१, बुधबार

सुनका गहना किन्ने बहानामा चोरी गर्ने पक्राउ

blog

काठमाडौ, साउन २९ गते । सुनको गहना खरिद गर्ने भनी चोरी गर्ने अन्दाजी ५२ वर्षीय लिना नकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार काठमाडौँ महानगरपालिकाको वडा नं। २२ न्युरोडस्थ्ति नारायण ज्वेलर्सबाट ती महिलाले सुनका गहना खरिद गर्ने भनी सुनको दुई तोला २० लालको सिक्री लिई फरार भएकी थिइन् ।

सो गरगहना न्युरोडस्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको भनी खुल्न आएको हुँदा त्यस ज्वेलर्सका सञ्चालक ५२ वर्षीय चित्र रञ्जन हजारालाई पनि पक्राउ गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । 

प्रहरीका अनुसार नकर्मीले यसभन्दा अघि अन्दाजी १७ ग्रामको सुनको सिक्री एक थान बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।