• १५ वैशाख २०८३, मङ्गलबार

दुई फर्मलाई चार लाख दस हजार जरिबाना

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १५ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यावसायिक फर्मलाई चार लाख १० हजार रुपियाँ जरिबाना गरेको छ । विभागले सोमबार काठमाडौँका १५ वटा उद्योग तथा व्यवसायी प्रतिष्ठानमा आकस्मिक अनुगमनका क्रममा ठमेलको बेस्ट सपिङ सेन्टर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित कान्तिपुर क्याफे प्रालिलाई जरिबाना गरेको हो । 

विभागका निर्देशक नरहरि तिवारीले ऐनको प्रावधानविपरीत कसुर पाइएपछि दुई व्यवसायी फर्मलाई दुई लाख पाँच हजारका दरले जरिबाना गरेको जानकारी दिनुभयो । 

विभागको आकस्मिक अनुगमनका क्रममा ठमेलका दुई फर्म हेभन ह्यान्डिक्राफ्ट र गुडलक ट्रेकिङ सपलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

यस्तै मैतीदेवी र ठमेल क्षेत्रमा रहेका अन्य ११ वटा फर्मलाई भने सुधार गर्ने निर्देशन दिएको विभागले जनाएको छ ।